रामेछाप, १५ असोज । नाबालिका छात्रालाई परीक्षा पास गराइदिने प्रलोभन देखाई बाल यौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विद्यालयमा अध्यापन गराउँदै आएका झापा गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्ने ४८ वर्षीय नवीन भन्ने नवराज भण्डारी पक्राउ परेका हुन्।
प्रहरीका अनुसार भण्डारीले १३ वर्षीया नाबालिका छात्रालाई परीक्षा पास गराइदिने भन्दै ललाई–फकाई संवेदनशील अंगमा छुने तथा चिमोट्ने गरेको आरोप छ। साथै, फेसबुक मेसेन्जरमार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाई यौनजन्य गतिविधि गरेको आरोपमा उनीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले भण्डारीलाई २०८३ असोज १४ गते पक्राउ गरेको हो। पक्राउ परेका उनलाई रामेछाप जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।













