समाचार

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सामग्री प्रकाशन नगर्न प्रशासनको आग्रह

कञ्चनरुप, १९ माघ । जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयमुक्त तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालालाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोग नेपालबाट स्वीकृत भई जारी भएको निर्वाचन आचारसंहिता २०८२ को प्रभावकारी कार्यान्वयनका लागि प्रशासनले सोमबार सूचना जारी गरेको हो ।
सूचनामा सञ्चार प्रतिष्ठान, सोसल मिडियासम्बद्ध कर्मचारी, विभिन्न सञ्चारकर्मी, राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि तथा सरोकारवाला सबैलाई एसएमएस, सामाजिक सञ्जाल, अनलाइन छापा, विद्युतीय माध्यम तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रयोग गरी कुनै पनि प्रकारका पक्ष वा विपक्षमा प्रचार–प्रसार, पोस्ट, रिपोर्ट, सेयर, कमेन्ट, प्रतिक्रिया, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन जस्ता गतिविधि नगर्न आग्रह गरिएको अनुगमन अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी नेश कुमार यादवद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
यस्ता कार्य निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै उल्लङ्घन भएको खण्डमा निर्वाचन आचारसंहिता २०८२ अनुसार आवश्यक कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सप्तरीले स्पष्ट पारेको छ ।

   

You cannot copy content of this page