कञ्चनरुप, ३० वैशाख । सप्तरीको कञ्चनरुपमा लागूऔषधको व्यावसायिक सञ्जालले कति गहिरो जरा गाडेको छ भन्ने कुरा पछिल्लो एक घटनाले पुष्टि गरेको छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले कञ्चनरूप नगरपालिका–९ रूपनगरमा विशेष सूचनाका आधारमा छापा मार्दा एक घरबाटै प्रतिबन्धित लागूऔषध बरामद गरेको छ।
प्रहरीले आफ्नै घरमा लागूऔषध भण्डारण गरी कारोबार गरिरहेको अवस्थामा ३० वर्षीया मनरेखा यादवलाई मंगलबार नियन्त्रणमा लिएको हो। उनको घर खानतलासी गर्दा कोठाभित्र लुकाएर राखिएको अवस्थामा घातक मानिने ब्राउनसुगर ३ ग्राम ३२ मिलिग्राम र १६२.२ ग्राम गाँजा फेला परेको थियो।
पक्राउ परेकी यादवमाथि जिल्ला अदालत सप्तरी राजविराजबाट २९ गतेदेखि लागू हुने गरी ६ (छ) दिनको म्याद थप अनुमति लिई घटनाबारे विस्तृत अनुसन्धान भइरहेको सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।
स्थानीय स्तरमा घरायसी आवरणमा भइरहेको यस्तो अवैध कारोबारले युवा पुस्ता जोखिममा परेको आशंका गरिएको छ।










