कञ्चनरुप, सप्तरी । जिल्ला अदालत सप्तरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरी र मातहतका प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चोरी, लागूऔषध, बिगो, कुटपिट र जारी मुद्दाका फरार अभियुक्तहरू रहेका छन्।
पक्राउ पर्नेमा चोरी मुद्दामा ३ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएका सुरुङ्गा नगरपालिका वडा नम्बर २ का दिपकलाल भन्ने दिपक बिश्वकर्मा र सोही ठाउँका लागूऔषध मुद्दामा १ महिना कैद र २ हजार जरिवाना तोकिएका रमेश कुमार चौधरी रहेका छन्। उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय भेडियाको टोलीले पक्राउ गरेको हो।यस्तै, बिगो मुद्दामा जनही ३ सय रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका जगतपुर गाउँ विकास समिति वडा नम्बर ९ का हिरालाल चौधरी, मोतिलाल चौधरी र कुल कुमारी चौधरीलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ। कञ्चनपुर प्रहरीले नै कुटपिट मुद्दामा १ सय रुपैयाँ जरिवाना तोकिएका कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का भोला साफीलाई पनि पक्राउ गरेको छ।कुटपिट मुद्दामा ६ महिना कैद र ५ सय ५० रुपैयाँ जरिवाना सजाय पाएका बोदेबर्साईन नगरपालिका वडा नम्बर ५ मल्लियाका चन्दन कुमार यादवलाई इलाका प्रहरी कार्यालय कडरबोनाले पक्राउ गरेको छ। जारी मुद्दामा १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भएका खडक नगरपालिका वडा नम्बर ७ का राज कुमार चमारलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कारबाहीका बुधबार सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको छ। उनीहरूबाट कुल ११ महिना कैद भुक्तान र ६ हजार ५ सय ५० रुपैयाँ जरिवाना असुल उपर गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।
















