कञ्चनरुप, सप्तरी। जिल्ला प्रहरी कार्यालय सप्तरीले जबर्जस्ती करणी उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ०५ रञ्जितपुर बस्ने अच्छितलाल चौधरीका २० वर्षीय छोरा राजेश चौधरी रहेका छन्।
प्रहरीका अनुसार वैशाख २९ गते दिनको अन्दाजी १२ बजेको समयमा चौधरीले पीडितलाई जबरजस्ती करणी गर्न खोजेका थिए। पीडितले हल्ला गरी गुहार मागेपछि प्रतिवादी राजेश चौधरीले पीडितलाई ज्यान मार्ने धम्की दिँदै घटनास्थलबाट फरार भएका थिए।
उक्त घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले प्रतिवादीको खोजतलास सुरु गरेको थियो। खोजतलासका क्रममा प्रहरीले उनलाई वैशाख ३० गते दिउँसो अन्दाजी १५ः३० बजेको समयमा खडक नगरपालिका वडा नम्बर ०५ रञ्जितपुरबाटै फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धानका लागि सम्मानित सप्तरी जिल्ला अदालतबाट बुधबारदेखि नै लागू हुने गरी ५ (पाँच) दिनको म्याद थप अनुमति लिई हिरासतमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ।











