समाचार

सप्तरीमा १४१ केजी गाँजासहित दुई जना पक्राउ

कञ्चनरुप, १ जेठ । जिल्ला प्रहरी कार्यालय सप्तरीले पूर्वपश्चिम राजमार्गबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले खडक नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा पिकअप गाडीबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–१ निवासी ३३ वर्षीय महाप्रसाद लिम्बु र मोरङको लेटाङ नगरपालिका–५ निवासी ४७ वर्षीय बलबहादुर लिम्बु रहेका छन् ।
प्रहरीका अनुसार धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप गाडीलाई शंकाको आधारमा रोकि जाँच गर्दा गाडीभित्र लुकाइछिपाई राखिएको १४ पोका गाँजा बरामद गरिएको थियो । बरामद गरिएको गाँजाको तौल १४१ केजी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजा, पिकअप गाडी तथा दुवै प्रतिवादीलाई नियन्त्रणमा लिएर लागूऔषध (गाँजा) सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जनाएको छ । पक्राउ परेका दुवै जनालाई सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page