धर्म संस्कृति समाचार समाज

श्रद्धापूर्वक वटसावित्री पर्व मनाइयो, बरको रूखमुनि व्रतालु महिलाहरूको भीड

कञ्चनरुप, सप्तरी । मिथिलाञ्चल क्षेत्रमा शनिबार विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु र सन्तान प्राप्तिको कामना गर्दै सांस्कृतिक एवं धार्मिक पर्व ‘वटसावित्री’ (बरसाइत) श्रद्धापूर्वक मनाएका छन् ।
प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिका दिन मनाइने यस पर्वका अवसरमा शनिबार बिहानैदेखि सप्तरीको कञ्चनरुप नगरपालिका लगायत तराई मधेसका विभिन्न स्थानमा रहेका बर (वट) को रूखमुनि पूजा अर्चना गर्ने महिलाहरूको उल्लेख्य भीड लागेको थियो । विशेषगरी कञ्चनरुप ८ स्थित डिठ्ठा पोखरीको वर, कञ्चनरुप १२ स्थित श्री शंकर माध्यमिक विद्यालय रुपनगर प्राङ्गणमा रहेको वरको बोटमा, सितापुर, बुलवा तथा कञ्चनपुर बजार क्षेत्रमा रहेका बरका रूखमुनि पूजाआजा गर्ने व्रतालु महिलाहरूको ठूलो उपस्थिति रहेको थियो ।
मिथिला संस्कृतिमा आदर्श नारीत्वको प्रतीक मानिने यस पर्वमा महिलाहरू नयाँ रातो वा पहेँलो वस्त्र तथा परम्परागत श्रृङ्गारका सामग्रीहरूमा सजिएर पूजामा सहभागी भएका थिए ।
विशेषगरी नवविवाहित महिलाहरूका लागि यो पर्व थप उत्साहजनक र विशेष रहने गर्दछ । लोकपरम्परा अनुसार नववधुहरूका लागि यस अवसरमा बेहुलाको घर (ससुराली) बाट विशेष पूजा सामग्रीका साथै लुगाकपडा, मिठाई र फलफूलसहितको उपहार (पाहुर) पठाउने चलन छ । हिन्दु धर्मावलम्बीहरूले पिपलझैँ बरको रूखलाई पनि त्रिदेव (ब्रह्मा, विष्णु र महेश) को वासस्थान मान्दै अत्यन्त पवित्र र पूजनीय मान्ने गर्दछन् ।
वटसावित्रीका दिन व्रतालु महिलाहरूले बरको रूखको फेदमा सुतीको काँचो धागो सात वा १०८ पटक बेरेर सामूहिक पूजा गर्ने गर्दछन् । पूजा सकिएपछि उनीहरूले यस पर्वको पौराणिक कथा श्रवण गर्ने र एक अर्कालाई सिन्दुर लगाएर सौभाग्यको कामना गर्ने गर्दछन् । यो पर्व नारीत्वको रक्षा, दाम्पत्य जीवनको सुख र सन्तान प्राप्तिमा सहायक सिद्ध हुने जनविश्वास रहेको छ ।

पौराणिक मान्यताअनुसार सत्ययुगमा पतिव्रता नारी सावित्रीले आफ्नो सतीत्व, निष्ठा र घोर तपस्याको बलले मृत्युका देवता यमराजलाई प्रसन्न बनाई मृत पति सत्यवानको प्राण फिर्ता ल्याउन सफल भएकी थिइन् । यमराजले सत्यवानको प्राण हरण गरेर लैजाँदै गर्दा सावित्रीले बरको रूखमुनि नै पतिको शव राखेर यमराजको पिछा गरेकी थिइन् । सोही ऐतिहासिक र धार्मिक घटनाको स्मरण र सम्मान स्वरूप यो पर्व मनाउने परम्परा सुरु भएको मैथिल संस्कृतिविद्हरू बताउँछन् ।
आधुनिक समयमा पनि यस पर्वले मिथिलाको पर्यावरण संरक्षण (रूख पूजा गर्ने संस्कृति) र पारिवारिक सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

   

You cannot copy content of this page