कञ्चनरुप, ३ जेठ । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न चोरी मुद्दामा संलग्न रहेको आरोपमा ७ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका वडा नम्बर ५ बस्ने २० वर्षीय कृष्णा रौनियार र छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ बस्ने २० वर्षीय आदित्य राउत रहेका छन्। रौनियारमाथि राजविराज वडा नम्बर ७ स्थित शिव मन्दिर प्राङ्गणमा रहेको शशिशिवराम साह र प्रदिप कुमार दासको पसलमा चोरी गरेको आरोप छ। उनलाई अदालतबाट ७ दिनको म्याद थप गरिएको छ।
त्यसैगरी, राजविराज वडा नम्बर ७ मा कोठाको ताल्चा फुटाई ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका आदित्य राउतलाई ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।
यस्तै, राजविराज नगरपालिका वडा नम्बर १६ बोरिया टोल बस्ने ३० वर्षीय विषेश भन्ने अमरनाथ यादव, १८ वर्षीय अजय सदा, २१ वर्षीय मोहम्मद खुस, राजविराज नगरपालिका वडा नम्बर ६ बस्ने १८ वर्षीय जयकान्त चौधरी र १८ वर्षीय रितेश चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूमाथि राजविराज वडा नम्बर १६ स्थित जाहेरवालाको घरमा चोरी गरेको अभियोग छ। पक्राउ परेका पाँचै जनालाई अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।












