कञ्चनरुप, २९ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ९, रुपनगरमा अवस्थित ऐतिहासिक विष्णु मन्दिरको वार्षिक उत्सव आगामी आषाढ २ र ३ गते श्रद्धा, भक्ति र हर्षोल्लासका साथ भव्य रूपमा मनाइने भएको छ। वि.सं. २००१ सालमा भगवान् विष्णु प्रकट भएदेखि नै निरन्तर रूपमा मनाइँदै आएको यस धार्मिक उत्सवलाई यस वर्ष पनि विशेष रूपमा मनाउने तयारी तीव्र पारिएको हो।
विष्णु मन्दिर समितिका अनुसार दुई दिने वार्षिकोत्सवका अवसरमा मन्दिर परिसरमा विशेष धार्मिक पूजा–आराधना, अखण्ड भजन–कीर्तन, आध्यात्मिक प्रवचन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। कार्यक्रम आषाढ २ गते (मंगलबार) देखि सुरु भई आषाढ ३ गते (बुधबार) सम्म सञ्चालन हुने समितिले जनाएको छ।
मन्दिरका संस्थापक मणि पोखरेलका अनुसार वि.सं. २००१ सालदेखि नै यस क्षेत्रको प्रमुख आस्थाको केन्द्रको रूपमा रहेको यस मन्दिरमा हरेक वर्ष भव्य उत्सव हुँदै आएको छ। उनले यस वर्षको वार्षिकोत्सवलाई अझ व्यवस्थित र भव्य बनाउन स्थानीय स्तरमा तीव्र तयारी भइरहेको जानकारी दिए।
मन्दिर समितिले यस ऐतिहासिक एवं धार्मिक उत्सवमा सहभागी भई पुण्यलाभ आर्जन गर्न सम्पूर्ण श्रद्धालु भक्तजन, कञ्चनरुप नगरवासी तथा आसपासका स्थानीय बासिन्दाहरूलाई हार्दिक निमन्त्रणा सहित सादर अनुरोध गरेको छ।
यस प्रकारका धार्मिक उत्सवहरूले समाजमा आपसी भाइचारा, धार्मिक आस्था र सामाजिक एकता सुदृढ बनाउनुका साथै स्थानीय सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास मन्दिर व्यवस्थापन समितिले लिएको छ।










