कञ्चनरूप, ४ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–९ स्थित रूपनगरमा निर्माण सम्पन्न भएको आरसिसी सडक तथा शनिबारे हटियाका दुईवटा टहराको सोमबार एक समारोहका बीच औपचारिक उद्घाटन गरिएको छ । मधेश प्रदेश सरकारका पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य राजकुमार लेखीले रिबन काटेर दुवै संरचनाको उद्घाटन गर्नुभएको हो ।
चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत आरसिसी सडक निर्माणका लागि २० लाख रुपैयाँ र शनिबारे हटियाका दुई टहरा निर्माणका लागि १६ लाख रुपैयाँ गरी कुल ३६ लाख रुपैयाँको लागतमा योजना सम्पन्न भएको समाजसेवी श्याम यादवले जानकारी दिनुभएको छ ।

उपभोक्ता समितिका अनुसार रूपनगर चोकदेखि दक्षिण यादव टोलसम्म १ सय मिटर लम्बाइ, ६ मिटर चौडाइ र ६ इन्च मोटाइको आरसिसी सडक निर्माण गरिएको छ। त्यस्तै शनिबारे हटियामा व्यवसायीहरूको सहजताका लागि पिलरसहित टिनको छाना भएका दुईवटा टहरा निर्माण सम्पन्न गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री लेखीले सडक, बजार र सार्वजनिक पूर्वाधारको विकासले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभएको छ । उहाँले कालोपत्रे सडकभन्दा आरसिसी सडक बढी टिकाउ, बलियो र कम मर्मत खर्च लाग्ने भएकाले बढी सवारी चाप हुने तथा बाढी–पानीको जोखिम रहेका क्षेत्रमा यस प्रविधिलाई प्राथमिकता दिइएको स्पष्ट पार्नु भयो ।
शनिबारे हटियामा निर्माण गरिएका टहराले स्थानीय व्यापारीलाई व्यवस्थित रूपमा व्यापार सञ्चालन गर्न सहज वातावरण उपलब्ध गराउने तथा बजार व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने उहाँको भनाइ थियो। उहाँ रले संघीय शासन व्यवस्थापछि प्रदेश सरकारमार्फत गाउँदेखि सहरसम्म विकास निर्माणका योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको उल्लेख गर्दै जनताको आवश्यकताअनुसार पूर्वाधार निर्माणलाई निरन्तरता दिइने बताउनुभयो ।

स्थानीयवासीले वर्षौंदेखि वर्षायाममा हिलो र हिउँदमा धूलोका कारण आवतजावतमा समस्या भोग्दै आएको अवस्थामा सडक ढलान सम्पन्न भएपछि सहज यात्रा गर्न पाउने भएका छन्। साथै हटियामा टहरा निर्माण भएपछि व्यापारीले सुरक्षित र व्यवस्थित वातावरणमा व्यापार सञ्चालन गर्न पाउने विश्वास व्यक्त गरेका छन्। स्थानीयका अनुसार यसले व्यापारिक गतिविधि विस्तार हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
सडक तथा टहरा निर्माण कार्य प्राविधिक इस्टिमेट र तोकिएको मापदण्डअनुसार गुणस्तरीय रूपमा सम्पन्न गर्न उपभोक्ता समिति, प्राविधिक टोली तथा सरोकारवालाले नियमित अनुगमन गरेका थिए।
उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सांसद सुमनराज प्याकुरेल, कञ्चनरूप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्तकुमार मिश्र, नेकपा (एमाले) सप्तरी क्षेत्र नं. १ का अध्यक्ष राजकुमार साह, वडा नं. १२ का वडा सदस्य जैनुद्दिन मियाँ, समाजसेवी दक्षनारायण श्रेष्ठ, वडा नं. ९ का वडा सदस्य रामेश्वर साह, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो ।













