सुनसरी, २३ साउन । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुम बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डबाट प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
लागूऔषध गाँजाको ओसारपसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरा तर्फ आउँदै गरेको कार र मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरी राखिएको अवस्थामा लागूऔषध गाँजाजस्तो देखिने पदार्थ ४१८ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार कार चालक सुनसरी धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–५ का २२ वर्षीय जिवनी राई, मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार एऐ बस्ने ३८ वर्षीय शंकर चौधरी पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट गाँजासहित कार र मोटरसाइकल नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













