कञ्चनरूप, ११ भदौ। कोशी ब्यारेजमा पानीको बहाव बढ्दै गएको छ। बिहीबार साँझको मापनअनुसार ब्यारेजमा १ लाख ५२ हजार ९६५ क्युसेक पानीको बहाव रहेको छ।
पानीको सतह निरन्तर बढ्दो क्रममा रहेकाले कोशी ब्यारेज खतरा (Danger) अवस्थाको नजिक पुगेको जनाइएको छ। बढ्दो बहावलाई व्यवस्थापन गर्न हाल ब्यारेजका १८ वटा ढोका (गेट) खोलिएको छ।
सम्बन्धित निकायले कोशी नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। नदीमा पानीको बहाव अझ बढ्न सक्ने सम्भावना रहेकाले अनावश्यक रूपमा नदी तथा तटबन्ध आसपास नजान र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।














