काठमाडौं, १५ असोज । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र नेपाल पत्रकार महासंघलाई जोडेर दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा असोज १४ गतेको प्रतिनिधिसभा बैठकमा सांसद खत्रीले तथ्य नबुझी प्रेस काउन्सिललाई धम्क्याउने तथा ‘पत्रकार हुन् कि गुन्डा’ भन्दै दिएको अभिव्यक्ति असामान्य खालको भएको उल्लेख गरिएको छ।
महासंघले उक्त अभिव्यक्ति दलहरूको दलदलमा परेर गुन्डागर्दीको भाषा बोल्नु आपत्तिजनक र अशोभनीय भएको जनाएको छ। साथै, खत्रीको प्रेसविरोधी अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै तत्काल माफी माग्न आग्रह गरेको छ।
विज्ञप्तिमा विवादित अभिव्यक्तिका कारण खत्रीले शुक्रबारका लागि राखेको अन्तर्क्रियासमेत पत्रकारहरूले बहिष्कार गर्ने जनाउ दिइसकेको उल्लेख गर्दै तत्काल क्षमायाचना गर्नुको विकल्प नरहेको महासंघले जनाएको छ।
महासंघले सांसद खत्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन प्रतिनिधिसभाका सभामुखसँग माग गरेको छ। संवैधानिक अधिकारको ख्याल नगरी प्रेसविरुद्ध दूषित मानसिकता राखेर पत्रकार र प्रेस जगतलाई धम्क्याउने वा अपमानित गर्ने खत्रीलाई कारबाहीको दायरामा ल्याउन समेत सम्बन्धित पक्षसँग माग गरिएको छ।














