कञ्चनरूप, १५ असोज । सप्तरीमा प्रहरीले ९ किलो २७५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान करिब ९ बजे सप्तकोशी नगरपालिका–२ स्थित पेट्रोल पम्प नजिक कञ्चनपुर–फत्तेपुर सडकखण्डमा लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
फत्तेपुरस्थित प्रहरी चौकी, उदयपुरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस फत्तेपुरको संयुक्त टोलीले कञ्चनपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००८ प ७०४८ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा मोटरसाइकलमा रहेको कालो झोलाभित्र ९ किलो २७५ ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला पारेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरी कञ्चनरूप नगरपालिका–८ का २८ वर्षीय शिवनारायण यादव, महादेवा गाउँपालिका–३ का २३ वर्षीय ललितकुमार यादव र सप्तकोशी नगरपालिका–१० का ४८ वर्षीय उपेन्द्र यादव रहेका छन्।
उनीहरूलाई गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।














