बारा, १६ असोज । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रतिबाट १५५ किलो ६३५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार बिहान करिब ९ बजे विशेष सूचनाका आधारमा मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा.१३ च ४७३४ नम्बरको कारलाई प्रहरीले इमलीप्रतिमा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिमरा, बारामा ल्याएको थियो।
कार चेकजाँच गर्ने क्रममा रातो प्लास्टिकले बेरी लुकाइछिपाई राखिएको अवस्थामा १५५ किलो ६३५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने २८ वर्षीय अम्बिर डिम्डुङ रहेका छन्।
प्रहरीले कार, बरामद गाँजा तथा पक्राउ परेका डिम्डुङलाई इलाका प्रहरी कार्यालय सिमरामा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।














