काठमाडौँ। बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पक्राउ गरेको छ।
झापा जिल्ला अदालतको २०८१ माघ ७ गतेको फैसलाले ४ करोड रुपैयाँ बिगो र १ महिना १५ दिन कैद सजाय ठहर भएका भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ (साविक झौखेल गा.वि.स. वडा नं. ३) बस्ने ६३ वर्षीय दिपक चन्द्र न्यौपाने पक्राउ परेका हुन्।
राधा पाण्डेको जाहेरीले वादी नेपाल सरकार भई चलेको बैंकिङ्ग कसुर मुद्दामा अदालतको फैसलापछि सजाय बेरुजू रही न्यौपाने फरार रहँदै आएका थिए। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई २०८३ असोज २२ गते भक्तपुर नगरपालिका वडा नं. १ स्थित सृजनाटोलबाट पक्राउ गरेको हो।
पक्राउ परेका न्यौपानेलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिनुभयो।













