कञ्चनरूप, ३० कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ ।
मृत्यु हुनेमा ७२ वर्षीय स्थानीय गोपी चौधरी रहेका छन् । आइतबार साँझ हराएको बाख्रा खोज्दै गाउँदेखि पूर्व–उत्तर दिशामा रहेको जंगल छेउमा पुगेका बेला उनी हात्तीको आक्रमणमा परेका हुन् ।
स्थानीयका अनुसार हात्तीले उनलाई लखेटेर आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ । जंगल आसपासका बस्तीमा जंगली हात्तीको आवतजावत बढ्दै गएपछि स्थानीय बासिन्दा जोखिममा परेका छन्।







