बृजमान तामाङ /
राजविराज, १४ माघ । सप्तरी प्रहरीले चोरी भएका सामान सहित संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुर मल्हनियाबाट चोरीमा संलग्न ब्यक्तिहरु सहित सामान बरामद गरेको हो ।
स्थानीय ज्ञानि साहु सुडिले संचालन गरेको कृष्णा जेनरल स्टोर्स किराना पसलबाट चोरी भएको नगद, सुन चाँदीको गरगहना, धनमाल सहित दुई बालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चोरी भएको खबर प्राप्त हुन साथ प्रहरी चौकी रामपुरमल्हनियाँ समेतको संयुक्त अनुसन्धन प्रहरी टोलि खटि गई खोजतलास गर्ने क्रममा सरसमान सहित संलग्न दुईजना बालकहरुलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
पिडितको जाहेरीको आधारमा बालकहरुको घर खानतलासी गर्दा एनसिएलका रिचार्ज कार्ड १ सय दरको १ सय ४० थान, ५० को १ सय ३९ थान, एनटिसीका सयको दरको १ सय १ थान, ५० को १ सय २० थान बरामद भएको छ ।
यसैगरी नेपाली रुपैयाँ नगद ४२ हजार २ सय अस्सि, भारतीय रुपैया ६ हजार २ सय ७०, सुनको गरगहना ८ तोला दुई आना र चाँदीको गरगहना ४३ तोला बरामद भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
बालकहरुलाई नियन्त्रणमा लिई चोरी मुद्वा शिर्षक अन्तर्गत मुद्वा दर्ता गरि घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जनाइएको छ ।
Add Comment