डम्बर राई /
कञ्चनरुप (सप्तरी), ११ बैशाख । स्थानिय निर्वाचन नजिकिदै गएसंगै नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेशको लहर तिब्ररुपले बढिरहेको छ । देशैभरी एमालेमा विभिन्न पार्टी छाडेर प्रवेश गर्नेको संख्यामा दिनहुँ बृद्घि हुदै गएको समाचारहरु आउन थालेका छन् ।
यसरी अन्य पार्टीबाट एमालेमा दिनहुँ सैयांैका संख्यामा सप्तरीमा पनि आउनेक्रम जारी रहेको जिल्ला सचिव देवनाथ यादवले बताए ।
उनको अनुसार, आइतवार एक कार्यक्रम बीच कञ्चनरुप नगरकमिटीको कार्यालयमा वडा १० का दिलिप चौधरी र वडा ३ का गुल्टेन चौधरीको अगुवाइमा चार दर्जन भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । उनीहरु माओवादी, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी परित्याग गरेर आएका हुन् ।
२०७४ सालको स्थानिय निर्वाचनमा वडा नम्बर १० मा नेकपा माओवादी पार्टीबाट अध्यक्षमा विजयी दिलिप चौधरीले मुलुकमा समृद्घी चाहानेले नेकपा एमालेमै आउनुपर्छ, एमालेको जस्तो भिजन कुनै पार्टीको नभएको बताए ।
नव प्रवेशीहरुलाई पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले अविर र माला लगाएर पार्टी प्रवेश गराए थिए । यस अघि वडा नम्बर ७ का राजपाबाट नगर प्रमुखमा प्रत्यासी उम्मेदवार माधव चौधरी, जसपाका केन्द्रिय सदस्य कल्पना चौधरी, वडा अध्यक्ष हरीकृष्ण महत्तो लगायत सैयौं एमालेमा प्रवेश गरेका छन् ।
एमालेको बाहुल्यता रहेको यस नगरपालिकामा अब हुने निर्वाचनमा कम्तीमा ८ वटा वडा सहित नगर प्रमुख, उप प्रमुख विजयी हुनेमा कुनै शंका नै छैन कार्यक्रमको प्रमुख अतिथीको आसनबाट प्याकुरेलले बताए ।
उनले हाम्रो अर्जुनदृष्टी पार्टी जिताउने हो, भन्दै पार्टीले गरेको निर्णय र सिस्टम, पद्घतीलाई स्विकार गरेर प्रचार प्रसारमा जुट्न सुझाव दिए ।
Add Comment