धर्म संस्कृति समाचार

आज काग तिहार, कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदै

आज देशभर काग तिहार मनाइँदै छ। काग तिहार कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाउने गरिन्छ।
यस वर्ष यमदीपदान शनिबारदेखि सुरु भए पनि काग तिहार आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कागलाई यमराजको दूतका रूपमा मीठा खानेकुरा दिएर काग तिहार मनाउने गरिन्छ। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ।
कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ।
काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।
नेपाली समाजमा कागलाई खबरवाहकका रूपमा पनि लिइन्छ। आफन्त, नातेदार दिवंगत भए, कोही पाहुना आउने भए, बार्दली या रूखमा बसेर सन्देश दिन्छ भन्ने मान्यता अझै छ।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो।
भोलि बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको समितिको भनाइ छ । यसैगरी गाई, गोरु र नेवार समुदायको म्हपूजा मंगलबार गर्नुपर्ने भनिएको छ ।
सोमबार भने सूर्यग्रहण परेको छ । यस वर्ष भाइटीका भने कात्तिक १० गते परेको छ ।

You cannot copy content of this page