काठमाडौँ । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा जितका लागि पाएको १८० रनको सामान्य लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
एपीएफलाई जिताउन भुवन कार्कीले ५५ तथा सुमित महर्जनले ३४ रन बनाए । ४ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाएका भुवन विजयी रन लिने क्रममा रनआउट भएका थिए ।
आर्मीका जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, विक्रम सोब र सुसन भारीले समान १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ३९ ओभरमा १ सय ७९ रनमा अल आउट हुँदै एक सय ७९ रन बनायो । ढिला सुरु भएका कारण खेल ४० ओभरमा झारिएको थियो ।
आर्मीका रोहित पौडेलले ४९ रन बनाए । टिमको स्कोर १३२ रन भएको अवस्थामा रोहित नवौं विकेटका रुपमा आउट भएका थिए । त्यसपछि अन्तिम विकेटका लागि सुशन भारी र जितेन्द्र मुखियाले ४८ रनको महत्वपूर्ण साझेदारी गरेर आर्मीलाई सम्मानजनकस्थितिमा पुर्याएका थिए ।
भारी १९ रनमा आउट भए भने मुखिया २४ रनमा नट आउट रहे । राजेश पुलामी १८ र कुशल मल्ल १६ रनमा आउट भए ।
एपीएफका अमर रौतेला र मौसम ढकालले समान ३ तथा किशोरी महतोले २ विकेट लिए ।
जितसँगै एपीएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले रु पाँच लाख प्राप्त गर्यो ।
प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका साथै तीन विभागीय टोली सहभागी भएका थिए ।
Add Comment