राजविराज, २० मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज आयोजित वक्तृत्व कला प्रतियोगितामा दुर्गा सेकेण्ड्री विद्यालयका अभिनव यादव प्रथम भएका छन् ।
राजविराज नगरपालिकाभित्रको विद्यालयका सहभागी २२ जनामा सर्वोत्कृष्ठ प्रस्तुती दिएर यादवले दुई हजार पाँच सय बराबरको प्रथम पुरस्कार हात पार्नु भएको हो ।
‘लैङ्गिक हिंसा र न्यूनिकरण’ विषयमा आयोजित प्रतियोगितामा पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयकी नेहा झा द्वितीय हुनुभयो । यस्तै ह्याप्पील्याण्ड सेकेण्ड्री विद्यालयकी ज्योति साह तृतीय र लिटिल एञ्जेल मोडर्न सेकेण्ड्री स्कूलका हर्षजित मिश्र सान्तवना पुरस्कारबाट पुरस्कृत हुनु भयो । द्वितीय हुनेलाई दुई हजार, तृतीय हुनेलाई एक हजार पाँच सय र सान्तवना हुनेलाई एक हजार रुपियाँ बराबरको शैक्षिक सामाग्रीबाट पुरस्कृत गरिएको छ ।

विजेताहरुलाई नगरपालिका कार्यपालिका सदस्य ललिता कर्ण, सप्तरी सामुदायिक सेवा केन्द्र हितनारायण लाल दास, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा र १६ दिने अभियान मूल समारोह समितिका मनोहर पोखरेलले पुरस्कार वितरण गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक अविनारायण काफ्ले, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विनयकुमार सोनु, महिला, बालबालिका, जेष्ठ नागरिक शाखाकी प्रमुख अनीता चौधरी, शाखा अधिकृत प्रकाश गुप्ताको उपस्थिती रहेको कार्यक्रमको उद्घाटन राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले गर्नुभएको थियो ।

विद्यार्थीहरुलाई लैङ्गिक हिंसाका बारेमा जानकारी हुन सकोस् र उनीहरुले पनि न्यूनिकरणका उपाय अन्य सरोकारवालालाई जानकारी गराउन सकुन् भन्ने उद्देश्यले यस्तो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ । सबै सहभागी विद्यार्थीहरुले निर्धारित समयमा राम्रो प्रस्तुती गरेकोमा खुसी व्यक्त गर्दै विद्यार्थीको प्रतिभा देखेर ती विद्यार्थी भविष्यमा असल नागरिक हुन सक्ने आशा देखेको सामुदायिक सेवा केन्द्रका सचिव संजय शर्माले बताउनु भयो ।

कार्यक्रममा मिलाफकी अध्यक्ष रमिला साह, नेपाल मजदुर यातायाता संघका अध्यक्ष संजय साह, हेल्प मधेशका अध्यक्ष प्रमोद शर्मा, ओसिएमसीकी मनिषा सिम्खडा, आसमान नेपालकी शान्ता सिंह, पत्रकार पुनम पोखरेल, प्रियासिंह थारु, बृजमान तामाङ, शिक्षक, र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।



Add Comment