उत्तम आचार्य /
कञ्चनरुप, ६ फागुन । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व सप्तरी जिल्लामा पनि भगवान शिवको पूजाआरधना एवं दर्शन गरी मनाइँदै छ ।
हिन्दुहरुको महान पर्व महाशिवरात्रीका अवसरमा सप्तरी जिल्लाको विभिन्न शिवलायहरुमा आज बिहानैदेखि हिन्दु धर्मावलम्वी भक्तजनहरुको उल्लेख्य मात्रामा भिड लागेको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका १२ धरमपुर स्थित ऐतिहाँसिक एवम् पुरातात्विक महत्वको धर्मेश्वर महादेव मन्दिरमा बिहानै देखि पूजापाठ गर्ने भक्तजनहरुको भिड लागेको छ ।
बिहान ४ बजेदेखि फूलमाला , बेलपत्र, ,धतुरो, मिष्ठान्न तथा विभिन्न किसिमका फलफूल सहित रंगीचंगी भेषभूषामा सजिएर महिला, पुरुष ,बृद्धबृद्धा र बालबालिकाहरु धर्मेश्वर महादेव मन्दिरमा दर्शनका लागि लामबद्ध भएर बसेका थिए ।
यसैगरी राजबिराजको हरिनन्देश्वर महादेव मन्दिरमा पनि भक्तजनहरूको घुँइचो लागेको छ । सो अवसरमा हरिनन्देश्वर महादेव मन्दिर संरक्षण समितिले भक्तजनहरूका लाई पूजा गर्न स्वयंसेवक परिचालन गरी व्यवस्थापन मिलाएको समितिले जनाएको छ ।
उक्त अवसरमा राजबिराज जेसिसले भक्तजनहरूलाई दूध, बेलपत्र, फूल, टीका प्रसाद वितरणको व्यवस्थापन मिलाएको छ ।
यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । आजको दिन रुद्रिपाठ गर्ने , लाखबत्ती बाल्ने र भव्यरुपमा मेला समेत लाग्ने गरेको पाइन्छ ।
त्यसैगरी जिल्लाकै शम्भुनाथ नगरपालिका स्थित रहेको शम्भुनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरुले पूजाआजा गरेका छन् । विभिन्न ध्वजापताकाले सिंगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको बिहार राज्यको सुपौल र मधुवनी जिल्ला लगायत शहरी तथा ग्रामिण क्षेत्रका धर्मालम्वीहरु बिहानैदेखि दर्शनका लागि सहभागि भएका छन् ।
त्यस्तै सप्तकोशी नगरपालिका फत्तेपुर स्थित शिवालय, कञ्चनरुप –६ बलुवा स्थित रहेको भजनेश्वर महादेव मन्दिर, कञ्चनरुप –८ स्थित रहेको शिवालय मन्दिर , कञ्चनरुप–१२ रुपनगर स्थित रहेको त्रिमार्ग शिवालय मन्दिर, राजविराज १ मा रहेको शिवालय मन्दिर, महादेवा गाउँपालिका स्थित शिवालय मन्दिर, हनुमाननगर कंकालिनी २ मा रहेको महादेव मन्दिर, पातोको डाकनेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिरमा समेत बिहानैदेखि पूजापाठ गर्ने भक्तजनहरुको उल्लेख्य मात्रामा घुँइचो लागेको छ ।
Add Comment