कञ्चनरूप, २० मंसिर । सप्तरीको सप्तकोशी नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।
सप्तकोसी नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा १५ औं नगर स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको हो ।
उक्त समापन समारोहमा बोल्दै मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सभ्य र सम्मुन्नत समाजको लागि बिकृती र बिसङ्गतिको उन्मुलन हुन आवश्यक रहेको बताए ।
उनले हाम्रो समाजका किशोर किशोरी लागू औषधको दलदलमा फस्नुका साथै महिला हिंसा लगायतका समस्या सङ्ग जुधिरहेको हुँदा खेलको माध्यमबाट अनुशासित र मर्यादित समाजको निर्माण सम्भव रहेको बताए । यस कार्यमा बिद्यार्थी भाइ बहिनीहरुको पनि उतिकै महत्वपूर्ण भुमिका रहने भएकोले बिद्यार्थी बर्गको सहयोग र सहकार्य हुन आवश्यक्ता रहेको उनले बताए ।
प्रतियोगितामा नगर भित्रका विभिन्न विद्यालयहरुको ३ सय ४१ विद्यार्थीहरु सहभागी रहेका थिए । प्रतियोगितामा भलिवल (छात्र/छात्रा),कवड्डि(छात्र/छात्रा),ट्र्याक अन्तर्गत दौड छात्र/छात्रा (१००/२००/४००/८००/१५००/३०००) हाई जम्प,लङ्ग जम्प,सटपुट,रिले दौड लगायतका करिब आधा दर्जन खेल बिधामा प्रतिस्पर्धा भएको थियो ।
कार्यक्रममा कर्मचारी ,शिक्षक , विद्यार्थी , राजनिती दलका नेताहरु, वडा अध्यक्षहरु, अभिभावक र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।