कञ्चनरूप, २५ माघ । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन रायमाझीले जिम्मेवारी सम्हाल्नुभएको छ।
यसअघिका प्रहरी प्रमुख डिएसपी माधवप्रसाद काफ्लेको सरुवा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा भएपछि प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंबाट सरुवा भई डिएसपी रायमाझी कञ्चनपुर आउनुभएको हो।
नवनियुक्त प्रमुख डिएसपी रायमाझीले आइतबार आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्नुभएको थियो। उक्त अवसरमा बोल्दै उहाँले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा कठोर कदम चालिने बताउनुभयो।
डिएसपी रायमाझीले हालको प्रमुख जिम्मेवारी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु रहेको उल्लेख गर्दै नागरिकको शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि ठोस रणनीति तयार गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पत्रकारहरूले उठाएका सडक सुरक्षा, लागूऔषध प्रयोग तथा तस्करी, होटल तथा लजमा हुने अवैध गतिविधि, प्राकृतिक स्रोत–साधन दोहन तथा वन पैदावरको चोरी निकासी जस्ता विषयमा जवाफ दिँदै उहाँले सरोकारवाला निकायहरूसँग समन्वय र छलफल गरेर नियन्त्रण तथा नियमन गरिने बताउनुभयो।
प्रहरी र पत्रकारबीचको सहकार्यबाट मात्रै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सकिने बताउँदै उहाँले प्रहरीका दायित्वमा सुधारका लागि प्रश्न उठाएर खबरदारी गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। साथै पत्रकारहरूको सम्मान र सुरक्षामा कुनै कमी हुन नदिने तथा सार्वजनिक चासोका विषयमा सूचना आदान–प्रदानलाई सहज बनाइने प्रतिबद्धता जनाउनुभयो।
डिएसपी रायमाझीले जबर्जस्ती करणी, महिला तथा बालबालिकामाथि हुने हिंसा, ज्यान मार्ने जस्ता गम्भीर फौजदारी अपराधमा शून्य सहनशीलता अपनाइने स्पष्ट पार्नुभयो। सेवाग्राहीप्रति कुनै किसिमको काखापाखा नगर्ने र कानुन कार्यान्वयनमा दबाब वा प्रभावका कारण विचलन हुन नदिने उहाँको भनाइ थियो।
विगतमा पत्रकार र प्रहरीबीच कायम सुमधुर सम्बन्धलाई निरन्तरता दिँदै आफ्नो कार्यकालमा यो सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।














