कञ्चनरुप , १५ बैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १२ रूपनगर, श्रावणपुरस्थित प्रसिद्ध पञ्चकन्या मन्दिरको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको यस मन्दिरमा हरेक वर्ष वैशाख १५ गते स्थापना दिवसको अवसर पारेर विशेष उत्सव मनाइँदै आइएको छ।
पञ्चकन्या मन्दिरका अध्यक्ष अमर श्रेष्ठका अनुसार वार्षिकोत्सवको अवसरमा पण्डित खेमराज कोइरालाको नेतृत्वमा पुरोहितहरूद्वारा चण्डी पाठ तथा विशेष हवन कार्य गरिएको थियो ।
मन्दिरमा पूजापाठ र भगवतीको आराधनाका लागि बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको थियो ।
वार्षिकोत्सवको अवसरमा मन्दिर परिसरमा भव्य मेलासमेत लागेको थियो, जहाँ स्थानीय तथा आसपासका क्षेत्रबाट उल्लेख्य जनसहभागिता रहेको थियो ।

यो मन्दिर पौडाहा देउराली सामुदायिक वन र निकुरी टिकुरी सामुदायिक वनको सङ्गम स्थल ढिम्कीमा अवस्थित छ ।
मन्दिर वरपर रहेको हरियाली वन र मनोरम दृश्यले भक्तजनहरूलाई आकर्षित गर्ने गरेको स्थानीय मेघराज श्रेष्ठ बताउनुहुन्छ ।
पञ्चकन्या मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अमर श्रेष्ठका अनुसार मन्दिरको धार्मिक गरिमालाई जोगाइराख्न र यस क्षेत्रको विकासका लागि वर्षैपिच्छे वार्षिकोत्सव कार्यक्रमलाई निरन्तरता दिँदै आइएको छ । आगामी दिनमा स्थानीय सरकार र सरोकारवाला निकायले यसको बृहत्तर विकासमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
प्राकृतिक रूपमा सुन्दर यस क्षेत्रलाई व्यवस्थित गरी पूर्वाधार निर्माण गर्ने हो भने यो उत्कृष्ट पर्यटकीय क्षेत्र (टुरिजम हब) बन्ने स्थानीय बासिन्दाहरूको जोडदार माग छ ।













