सप्तरी, ८ असार । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित कोशी नदी किनारबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। नदी किनारमा लुकाएर राखिएको अवस्थामा १६८ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका वडा नम्बर १, सत्र नम्बरस्थित कोशी नदीको किनारमा शङ्कास्पद रूपमा सामान राखिएको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। खोजी गर्ने क्रममा नदी किनारमा ट्युब र बाँसको सहायताले सुरक्षित गरी राखिएका ९ वटा प्लास्टिकका बोराहरू फेला परेका थिए। ती बोराहरू खोलेर जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो।
गाँजा तस्करहरूले नदीको मार्ग हुँदै अन्यत्र ओसारपसार गर्ने उद्देश्यले सो स्थानमा गाँजा जम्मा पारेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरी टोली पुग्नु अगावै तस्करहरू फरार भएकाले उक्त गाँजा बेवारिसे अवस्थामा फेला परेको थियो।
बरामद गरिएको गाँजालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनामा संलग्न तस्करहरूको पहिचान र खोजी कार्य तीव्र पारिनुका साथै यस सम्बन्धमा थप कानुनी अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।












