म्याग्दी, २२ भदौ । म्याग्दीको बेनी नगरपालिका–२, खबरामा ७२ वर्षीया महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।
हत्या हुनेमा बेनी नगरपालिका–२, खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरे रहेकी छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः३० बजे मनकुमारीलाई उनकी छोरीका छोरा २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारपछि बरुवाल घटनास्थलबाट फरार भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बरुवाललाई बेनी नगरपालिका–२ स्थित हाडेभिरबाट भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बरुवालमाथि थप अनुसन्धान भइरहेको छ भने घटनासँग सम्बन्धित प्रमाण संकलन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।














