कञ्चनरूप सप्तरी, १६ कार्तिक । सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। गाँजा लोड गरिरहेका बेला प्रहरीलाई देखेपछि भाग्न खोज्ने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार आज बिहान करिब ३ बजे दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका गाडीमा आठ वटा पोकामा राखिएको करिब २१० किलो गाँजा फेला पारेको थियो।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन्।
रामसागर बा.१ च ५०३८ नम्बरको स्कार्पियोका चालक हुन् भने राजकुमार को.१ च ८१८२ नम्बरको स्कार्पियोका चालक रहेको प्रहरीले जनाएको छ।
घटनामा बरामद गाँजा र दुवै गाडी नियन्त्रणमा लिइएको छ। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







