शिक्षा स्वास्थ्य

बालअधिकार, बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी बक्तृत्वकला प्रतियोगिता

राजविराज, २०७७ पुस २४ गते ।
बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार इन्सेकको आयोजनामा आज राजविराजमा “अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता” तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजनाअन्तर्गत विद्यार्थीहरुको अगुवाईमा अतिरिक्त क्रियाकपाल सञ्चालन गरिएको हो ।
“बालअधिकार तथा बालविवाह र लैङ्गिक हिंसा” विषयक वक्तृत्वकला प्रतियोगितामा पब्लिक विन्देश्वरी माध्यमिक बिद्यालयका २१ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।


कार्यक्रममा कक्षा ९ की अम्बिका झा प्रथम, रुपा कर्ण द्वितिय, कञ्चन यादव तृतिय र कक्षा १० की रबीना यादव सान्तवना पुरस्कारबाट पुरस्कृत हुनु भयो ।
प्रतियोगिताको निर्णायकको भूमिका सोही विद्यालयको उच्च माविमा अध्ययनरत सौरभकुमार झा र सोनीकुमारी साहले गर्नुभएको थियो ।
प्रतियोगिताका पुरस्कृत छात्रछात्राहरुलाई मानवअधिकार निगरानी समूहका अध्यक्ष रघुबर साह, शिक्षक गिरीराज पौडेल, सहजकर्ता दिपक यादवलगायतले पुरस्कार विररण गर्नु भयो ।
अध्यक्ष साहको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा मन्तव्य राख्नु हुदै वक्ताहरुले विद्यार्थीहरुमा बालअधिकार, बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी जानकारी दिन र विद्यार्थीहरुमा निहित प्रतिभालाई प्रस्फुटन गर्न वक्तृत्वकला प्रतियोगिता गरेको विचार व्यक्त गर्नु भयो ।
प्रतियोगितामा सहभागी बिद्यार्थीहरुले बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने अधिकारका बारेमा चर्चा गरेका थिए । बिद्यार्थीहरुले गुणस्तरिय जीवन उपयोगी शिक्षा पाउनु अधिकार भएजस्तै ध्यान दिएर जतनका साथ पढ्नु जिम्मेवारी भएको बताए । खोप पाउनु, विरामी हुँदा औषधि उपचार, रोग लाग्नबाट बच्ने उपाय थाहा पाउनु अधिकार हो भने स्वास्थ्य सरसफाईमा ध्यान दिनु जिम्मेवारी रहेको बिद्यार्थीहरुले बताए ।
बाल अधिकार आदर्श र घोषणा पत्रमा मात्र सिमित नराखेर यसलाई बालविकासको व्यवहारिक स्वरुप दिन बाल अधिकार सम्बन्धि महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित गरिएको साझा सम्झौता पत्र हो । नेपालले १९९० सेप्टेम्बर १४ मा महासन्धी अनुमोदन गरिसकेको छ । आजको परिर्वतित समय संगसंगै बाल अधिकारलाई देशको मुल कानुन संविधानमै पनि समेटिएको छ ।

नेपालको संविधान २०७३ भाग ३ मौलिक हक र कर्तव्यको धारा ३९ मा बालबालिकाको हकको बारेमा उल्लेख गरिएको छ । संविधानले प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण जन्म दर्ताको हक हुने, परिवार तथा राज्यबाट स्वास्थ्य, शिक्षा, पालनपोषण, उचित स्याहारसुसार, खेलकुद, मनोरञ्जन तथा सर्वागिण व्यक्तित्व विकासको हक हुने, प्रारम्भिक बाल विकास तथा सहभागिताको हक हुने, बाल विवाह, गैर कानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने, बाल अनुकुल न्यायको हक हुने र जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण तथा सुविधा हुने उल्लेख गरेको छ ।
सोही विद्यालयमा आइतबार बिद्यार्थीहरुबीच निबन्ध प्रतियोगिता राखिएको इन्सेक सप्तरीका प्रतिनिधी मनोहर पोखरेलले जानकारी दिनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्बर २ जनकपुरधामले राजविराज नगरपालिका र बिष्णुपुर गाउँपालिकामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्दै आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page