माघ ८ गते राष्ट्रिय युवा संघको अगुवाइमा युवा ¥याली र प्रशिक्षण कार्यक्रम हुने तथा माघ १३ गते राजविराजमा आमसभा हुने
राजविराज, २०७७ माघ ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुमनराज प्याकुरेलले वैधानिक रुपमा नेकपा नफुटेको दाबी गर्नुभएको छ ।
सप्तरीको राजविराजस्थित निवासमा आज पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभाका सदस्य एवम् पार्टीका प्रदेश–२ कमिटी सचिव प्याकुरेलले अध्यक्षको सहमतिमा महासचिवले पार्टीको बैठक बोलाउने र निर्णय गर्ने विधि अनुसार केपी शर्मा ओली अध्यक्ष भएको पार्टीले गरेको गतिविधी नै वैधानिक भएको जिकिर गर्नुभयो ।
केपी ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक र मूलधार रहेको बताउनु हुँदै उहाँले कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्नुभयो ।
पार्टी कमिटीमा कारवाहीको माग र संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता नभएको अवस्थामा केही साथीहरु वैठकमा आउन छाडेर सडकमा पुग्नु भएको बताउनु हुँदै उहाँले अहिले पनि पार्टीको दोस्रो अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै रहेको बताउनु भयो ।
ओली नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा चालेको अग्रगामी कदमले नेकपा देशी विदेशी प्रतिक्रियावादी शक्तिको तारो बनेको उहाँले बताउनु भयो । पार्टीकै केही पदलोलुप र महात्वाकांक्षीलाई बोकेर गरिएको नेतृत्व र सरकारविरोधी कदम जनविरोधी रहेको प्याकुरेलले दावी गर्नुभयो ।
संघीयता र लोकतन्त्रमाथि नै आघात पार्ने गरी पार्टीभित्रैबाट हुन थालेको षडयन्त्रको समयमै पहिचान गरी प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन गर्नुपरेको प्याकुरेलको कथन थियो । सरकार चल्ने र अर्को बन्ने परिस्थिती नरहेकाले वाध्यकारी र आवश्यक कदम चाल्नु परेको दावी गर्दै उहाँले जनताको अभिमत र निर्णय नै अन्तिम विकल्प भएको बताउनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/IMG20210118134011-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/IMG20210118134011-1024x768.jpg)
तानाशाह र निरकुंशहरु जनताका बीचमा जान चाहदैनन तर लोकतान्त्रिक शक्तिहरु निर्वाचनमा जाने दावी गर्दै उहाँले अन्य प्रदेश झै प्रदेश नम्बर २ पनि ओलीमय भएको बताउनु भयो ।
उहाँले देश र जनताको हितका लागि निर्वाचन आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न अनुरोध गर्नुभयो ।
पत्रकार सम्मेलनमा माघ ८ गते राष्ट्रिय युवा संघको अगुवाइमा युवा ¥याली र प्रशिक्षण कार्यक्रम हुने तथा माघ १३ गते राजविराजमा आमसभा हुने जानकारी दिइएको छ ।
आमसभामा नेकपाका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा प्रदेश–२ कमिटिका अध्यक्ष एवम् शहरी विकास मन्त्री प्रभु साह, कानुन तथा ससंदीय ब्यवस्था मन्त्री लीलानाथ श्रेष्ठ, महिला वालबालिका मन्त्री जुली महतो, स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य रघुवीर महासेठ र प्रदेश–२ कमिटी सचिव तथा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी केन्द्रीय सदस्य अब्दुल मजिद साकिरको अध्यक्षता र प्रदेश नम्बर २ का इन्चार्ज एवम् प्रदेश सभा सदस्य स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलको प्रमुख आतिथ्यतामा माघ २ गते बसेको वैठकले नेकपा सप्तरीको जिल्ला संयोजक समितिको प्रमुखमा पूर्व सांसद ताराकान्त चौधरीलाई जिम्मेवारी दिएको छ ।
यस्तै केन्द्रीय समिति संयोजकको जिम्मेवारी अब्दुल मजिद साकिरलाई र नेकपा सप्तरीको प्रवक्तामा सुखराम यादवलाई जिम्मेवारी दिइएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment