राजनीति

अदालतलाई प्रभावित पार्ने उद्देश्यले सडकमा नाटक भइरहे पनि अदालत प्रभावित हुँदैन :मण्डल

राजविराज, २०७७ माघ ११ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश नं. २ का पार्टी ईन्चार्ज सत्यनारायण मण्डलले सर्वोच्च अदालतलाई प्रभाव पार्नका लागि सडकमा नाटक भइरहेको बताउनु भएको छ ।
राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ का इन्चार्ज समेत रहनु भएका मण्डलले अदालतलाई प्रभावित पार्ने उद्देश्यले सडकमा नाटक भइरहे पनि अदालत प्रभावित नहुने बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रहरले नभई बाध्यताले संसद् विघटन गरी चुनावको मिति घोषणा गरेको उहाँले बताउनु भयो । मण्डलले नेकपाका माधव नेपाल र प्रचण्डले वंशनाशकको भूमिका खेल्दै आफनो स्वार्थ र पदका लागि मुलुकलाई असफल बनाउने षड्यन्त्र गरेकाले प्रधानमन्त्री ओलीले बाध्यतावश पछिल्लो कदम चाल्नु परेको दाबी गर्नुभयो ।
राजविराजस्थित रङ्गशालामा मङ्गलबार हुन लागेको आमसभाबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा मण्डलले लोकतन्त्र र जनतामा विश्वास गर्ने दलहरु निर्वाचनमा होमिने विश्वास व्यक्त गर्नुभयो ।
संविधान निर्माणका क्रममा आफूले राखेको विचारका आधारमा मधेसवादी दलहरुले आफ्नो घरमा आक्रमण गरेको र जिल्ला प्रवेश निषेधको घोषणा गरेको स्मरण गर्नुहुँदै उहाँले अहिले पनि विभाजित नेकपाको प्रचण्ड– नेपाल समूहले कार्यक्रम अवरोध गर्ने दुष्प्रयास गरिरहेको आरोप लगाउनु भयो ।


जनतालाई सुसूचित गर्न जनताका बीच राजनीतिक दललाई जानबाट रोक्न खोज्नु मौलिक हकको गम्भिर उल्लंघन भएको भन्दै मण्डलले प्रधानमन्त्रीको जिम्मेवारी दिएर पनि अनेक बखेडा झिकी कामै गर्न नदिए पछि लोकतन्त्रप्रति विश्वास गर्दै पुनः जनताकै बीच जाने निर्णय भएको बताउनु भयो ।
अदालतमा विचाराधिन रहेको विषयमा एकपक्षीय धारणा सार्वजनिक गर्ने चार जना पूर्व प्रधान न्यायाधीशको चरित्र न्यायिक नभएको भन्नुहँदै उहाँले त्यस्तालाई सार्वजनिक रुपमा दण्ड दिनुपर्ने बताउनु भयो ।
अपेक्षा र जनताको माग अनुसार प्रदेश २ सरकारले काम गर्न नसकेको बताउनु हुँदै प्रदेश २ सभा सदस्य मण्डलले प्रदेश सरकारमा प्रजातान्त्रिक संस्कार र आचरण नभएको तथा भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा पूर्व उप सभामुख गंगाप्रसाद यादव र नेकपाका केन्द्रीय सदस्य सुखराम यादवले नेकपाको मङ्गलबार राजविराजमा हुन गइरहेको जनजागरण सभामा आउने सहभागीहरुलाई धम्क्याउने, अवरोध गर्ने, निषेधको राजनीति गर्ने कार्यमा तल्लिन केही व्यक्तिहरुको अलोकतान्त्रिक क्रियाकलाप निगरानी गर्न र भण्डाफोर गर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page