समाचार

राजविराजमा बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै ज्ञानशाला दिवस मनाइयो

राजविराज ,२०७७ माघ १७ गते । राजविराजमा आज बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै ज्ञानशाला दिवस मनाइएको छ ।
राजविराजको तेरापंथ भवनमा आयोजित एक समारोका बीच सर्वश्रेष्ठ बालिका तृप्ती चौडरिया, सर्वश्रेष्ठ बालक केशव सुराना र प्रतिभावान बालिका मोहिता छाजेडलाई प्रमाणपत्रसहित पुरस्कृत गरियो ।
यसैगरी कक्षा १ र कक्षा २ मा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप उपहारहरु प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तेरापंथ सभाका पूर्व अध्यक्ष रायचन्द दुगडले बालबालिकामा बिनम्रता, सहनशीलता, आदर र सेवाभाव आदिको संस्कार बिजारोपण गर्न ज्ञानशालाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भयो ।
जेष्ठ नागरिक संघका प्रदेश २ अध्यक्ष शंकर शारदाले जीवन जिउने कला र ज्ञान सिकाउने ज्ञानशालाबाट भावी पीढीलाई सुरक्षित बनाउन सकिने बताउनु भयो ।

इन्सेक प्रतिनिधी मनोहर पोखरेलले बालबालिकालाई असल जीवन पद्धतीतर्फ उन्मुख गराउँदै सफल मनुष्य बनाउन भइरहेको सार्थक प्रयासको प्रंशसा गर्नुभयो ।
ज्ञानशालामा जैन धर्मावलम्वी बालबालिकालाई जैन जीवनशैलीको प्राथमिक जानकारी दिई अध्यात्मिक, धार्मिक, सामाजिक, नैतिक, सांस्कृतिक मूल्य मान्यताबाट परिचित गराउँदै असल संस्कार सिकाइन्छ ।
ज्ञानशाला पाठशालाका अध्यक्ष थानसिंह भन्सालीको अध्यक्षतामा आयोजित समारोहमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, ज्ञानशालाकी मुख्य प्रशिक्षिका कमला भन्साली, संयोजक सुशिलादेबी छाजेड, तेरापंथ महिला मण्डलकी अध्यक्ष निलम कुचेरिया, सुनिला गोल्छा, पुनम झालगायतले भावी पीढीलाई संस्कारित, सुयोग्य र सुरक्षित बनाउन ज्ञानशालाले संस्कारयोग्य नागरिक उत्पादनमा कारखानाको काम गरिरहेको बताउनु भयो ।
ज्ञानशालामा निःशुल्क अध्ययन गराउने शिक्षिकाहरुलाई समेत सल ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रममा ज्ञानशालाका बालबालिकाले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्दै गीत, कविता, मुक्तक, चित्र, बक्तृत्वकला प्रस्तुत गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page