समाज

मानव अधिकार समूहद्वारा आगलागी पीडित महिलालाई सहयोग

राजविराज , फागुन १९ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा राजविराज नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहले बैठक खर्चसहित ६ हजार रुपियाँ आगलागी पीडित गरिब तथा असहाय दलित महिलालाई प्रदान गरेको छ ।
राजविराज नगरपालिका–१० दिघवाकी २५ वर्षीया निरसी खंगलाई उपचार खर्च जुटाउन र पोषणयुक्त खानामा समस्या परेको बेला समूहले बैठक खर्च बापतको १ हजार ५ सय र कार्यसमिति पदाधिकारीबाट सहयोग स्वरूप उठाएको ४ हजार ५ सय गरी ६ हजार रुपियाँको प्रोटिनयुक्त खानेकुरा सहयोग गरेको सहजकर्ता दिपक यादवले जानकारी दिनुभयो ।
इन्सेक सप्तरी प्रतिनिधिको कार्यालयमा अध्यक्ष रघुबर साहको अध्यक्षतामा बसेको बैठक पश्चात् निगरानी समूहका पदाधिकारीहरू राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगेर हर्लिक्स र फलफूलको जुसलगायतका सामाग्री उपलब्ध गराएको समूहकी कोषाध्यक्ष नानीमैया कटवालले बताउनुभयो ।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न नियमित अस्पताल जाने र पाँच/पाँच दिनमा प्रोटिनयुक्त आहारा लिएर समूहका पदाधिकारी जाने व्यवस्था मिलाइएको पनि उहाँले जानकारी दिनुभयो ।

इन्सेक प्रतिनिधि मनोहर पोखरेलसहित पुगेको टोलीले बिरामीको स्वास्थ्य अवस्था जानकारी लिनुका साथै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झासँग गरिब, असहाय लगायतका लक्षित समूहको लागि सामाजिक सेवा एकाइमार्फत आगलागी पीडितको औषधोपचार गर्न माग गरेको छ ।
डा। झाले राजविराजस्थित अस्पतालमा ‘बर्न सेन्टर’ नभएकाले उपचारका लागि काठमाडौँ वा कीर्तिपुर लैजान सुझाव दिएका छन् । आर्थिक अभावमा कारण खंग उपयुक्त अस्पतालमा जान नसक्दा राजविराजकै अस्पतालमा उपचार गराइरहेकी छिन् ।
गरिबीका कारण उपचार खर्च जुटाउन नसक्दा जिवनमरणको दोसाँधमा रहेकी निरसी २०७७ माघ १३ गते चिसो छल्न बालेको घुरबाट सल्केको आगोले जलेर गम्भीर घाइते भएकी हुन् ।
ऐलानी जग्गामा बसोबास गर्दै आएकी चार वर्षीय छोरीकी आमा निरसी र उनका पति राजाराम अर्काको घर खेतमा मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए । एक महिनादेखि निरसी अस्पतालमा भर्ना भएपछि उनको रेखदेखमै खटिनु परेकाले राजारामले पनि मजदुरी गर्न पाएका छैनन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page