खेलकुद

राजविराजमा हुने प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

राम नारायण यादव /
राजविराज, २२ फागुन ।
सप्तरीका पूर्व राष्ट्रिय भारोतोलन खेलाडी देवसुन्दर यादवको स्मृतिमा फागुन २९ गते देखि राजविराजमा हुने ‘देवसुन्दर यादव प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिताको’ सम्पूर्ण तयारी पुरा भएको छ ।
जिल्ला भारोतोलन संघ सप्तरीले शनिबार राजबिराजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै खेल तालिका समेत सार्वजनिक गरेको छ ।
भारोतोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सातवटै प्रदेश संगै सेना, सशस्त्र र नेपाल प्रहरीका विभागिय टिमको समेत सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा कुल १ सय २५ खेलाडी सहभागी रहने महिला खेलाडीको संख्या ४० देखि ५० सम्म रहने उहाँले बताउनुभयो ।

प्रतियोगितामा १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि जिल्ला संघकै पहलमा स्थानिय तह र विभिन्न संघ संस्था, व्यक्तीबाट उक्त सहयोग रकम जुटाईने उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा विभिन्न तौल समुहमा महिला र पुरुष तर्फ ३५÷३५ खेलमा प्रतिस्पर्धा हुनेछन् । यस्तै प्रतियोगिताको उद्घाटन प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साह (रामबाबु) ले उद्घाटन गर्ने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा भारोतोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ महासचिव तिलक बहादुर राउत, संघका सल्लाहकार सूर्यनाथ यादव, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले पनि प्रतियोगिताबारे जानकारी गराउनुभएको थियो ।
प्रतियोगिताका विजेता खेलाडीलाई कप, मेडल, कदरपत्रका साथै उत्कृष्ट खेलाडीको चयन गरी नगद पुरस्कार समेत दिइने कार्यालय प्रमुख भुजेलले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page