राजनीति

संविधान र लोकतन्त्रको रक्षा नेपाली काँग्रेसले नै गर्ने : डा. शेखर कोइराला

कञ्चनरुप, ३ वैशाख । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मधेशवादी दलका नेताहरुले पहिले पनि मधेशी जनता प्रति अन्तरघात गरेको आरोप लगाउनुभयो ।
शुक्रबार नेपाली काँग्रेस संघिय क्षेत्रिय कार्य समिति क्षेत्र नम्बर १ सप्तरीद्वारा कञ्चनरुप नगरपालिका ९ रुपनगर स्थित रहेको फूलबारी पार्टी प्यालेसमा आयोजित नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले संविधान र लोकतन्त्रको रक्षा नेपाली काँग्रेसले नै गर्ने बताउनुभयो ।
मधेश तराई नेपाली काँग्रेसको उर्वरा भूमि रहेको र मधेशवादी दलका नेताहरु मधेशमा नेपाली काँग्रेसको बिरुद्धमा भ्रम फैलाई आफू चोखो बन्न खोजेको आरोप लगाउँदै मधेशवादी दलका नेताले छरेको भ्रममा कुनै तुक नरहेको उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसले युवा पुस्तालाई बढी भन्दा बढी सीटमा उम्मेदवारी बनाएर अगाडि बढ्ने र आगामी चुनाबबाट बहुमतको सरकार बनाउने डा. कोइरालाले दाबी गर्नुभयो । संविधान र लोकतन्त्रको रक्षा गर्दै ओलीको विकल्प खोज्न काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने समयमा काँग्रेस मौन बसेको भन्दै आफ्नै पार्टी प्रति प्रश्न समेत गर्नुभयो । नेता कोइरालाले भन्नुभयो अहिलेको अवस्थामा काँग्रेस मौन बस्ने बेला होइन, अहिले हामी निर्णायक छैनौ भनेर बस्ने हो की निर्णायक बन्न कोसिस गर्ने हो ?
अहिले कम्युनिस्टहरु दुई तीन तिर भएको बेला यहि संसदबाट नयाँ विकल्प खोज्नुपर्ने कोइरालाले बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री हेमराज तातेड, केन्द्रिय सदस्य हरि न्यौपाने , प्रदेश नम्बर १ का संसदिय दलका प्रमुख सचेतक केदार कार्की, पूर्व मन्त्री रमणी देवी राम, जिल्ला सभापति दिनेश कुमार यादव, उप सभापति भुवन आचार्य। पूर्व क्षेत्रिय सभापति भरतराज शर्मा , सहसभापति ललनप्रसाद गुप्ता महिला नेतृ लक्ष्मी गिरी लगायतका वक्ताहरुले क्रियाशिल सदस्यको विस्तार गर्दै पार्टी संगठनलाई अगाडि बढाई नेपाली काँग्रेसलाई १ नम्बर पार्टी बनाउनुपर्ने मा जोड दिनुभएको थियो ।

स्वागत मन्तव्य कञ्चनरुप नगर समितिका सभापति बोधराज पोखरेलले गर्नुभएको थियो भने क्षेत्र नम्बर १ का सभापति बद्री नारायण माहात्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page