समाज

सितापुर कलौनीमा खानेपानी सहित विभिन्न समस्या समाधनको माँग गर्दै स्थानिय आन्दोलित

बृजमान तामाङ /
बिरेन्द्र बजार, ५ बैशाख ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित सितापुर कलौनी बजारमा खानेपानी सहित विभिन्न समस्या सामाधनको माँग गर्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् ।
बजारमा खानेपानी समस्या सहित पूर्वाधार बिकासका लागि पटकपटक गाउँपालिकाको ध्यानाकर्षण गराउदा समेत सुनुवाइ नभएपछि स्थानीय बासी आन्दोलनमा उत्रिएका हुन ।
आन्दोलनको कार्यक्रम अन्तर्गत स्थानीयले आइतबार गाउँपालिकाको प्रवेशद्वारमा नारावाजी गर्दै तालाबन्दी गर्ने प्रयास गरे । गाउँपालिकामा स्थानीय समस्या सामाधनका लागि आइतबार बोलाएको बैठकमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत उपस्थित नभए पछि आक्रोसित स्थानीयबासीले मुलगेटमा ताला लगाउने प्रयास गरे ।

जिल्लाकै अति पुरानो बजारमा खानेपानीको चरम अभाव छ बजार ब्यबस्थापन समितीका अध्यक्ष मिलन चौधरीले भन्नुभयो, बाटोको उपयुुक्त ब्यबस्था छैन, ढल निकास नहुदा सामान्य पानी पर्दा डुवानको समस्या झेल्नुपर्छ उहाँले थप्नुभयो, बजारबासीको समस्या प्रती कोहि गम्भीर देखिदैन ।
पानीको श्रोतको दिगो ब्यबस्था नहुदा फागुन देखि आसार सम्म सुखा मौसममा खानेपानीको बढी समस्या हुने गरेको स्थानीय संतोषी चौधरीले बताउनुभयो । पानीको अन्य श्रोत नहुदा ट्युबवेलको मात्र भर छ चौधरीले भन्नुभयो, फागुन देखि ट्युबवेलमा पानी आउन छोड्छ उहाँले भन्नुभयो ,खानेपानी अर्कै ठाउँबाट ल्याउनु पर्ने बाध्यता छ ।
बजारमा खानेपानीको सहज ब्यबस्था, ढल निकास, बाटोको ब्यबस्था, पोलमा बिजुली जडान सहितका विभिन्न समस्या समाधान गर्नुपर्ने माँग गरि गाउँपालिकामा पटकपटक डेलिकेशन जाँदा समेत समस्या समाधान प्रती चासो नदिएको स्थानीयको आरोप छ । सितापुर कलौनी बजारमा गाउँपालिकाको केन्द्र हुदा समेत स्थानीयको समस्या समाधान प्रती स्थानीय सरकार उदासिन देखिएकोले आन्दोलन गर्नु परेको बजारबासीहरु बताउँछन् ।

गाउँपालिकाको तर्फबाट वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले बजारबासीको समस्या समाधानको लागि पहल गर्ने आश्वासन दिएपछि आजको लागि आन्दोलन स्थगित गरेको स्थानीयले जनाएका छन् । उनीहरुले तीन दिन भित्र समस्य सामाधान गर्ने तर्फ गम्भीरता नदेखाए तालाबन्दी, धर्ना सहितका सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page