राजनीति

वर्तमान सरकारको जस्तो विकास निर्माण र जनताको हितमा काम गर्ने कुनै सरकार नरहेको : नेता प्याकुरेल

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , २२ वैशाख ।
राष्ट्रको समृद्धि र विकासका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेको नेतृत्वको सरकारले काम गरिरहेको नेकपा एमालेका राष्ट्रिय सभा संसदिय दलका नेता, केन्द्रिय सदस्य, प्रदेश नम्बर –२ सह–ईन्चार्ज एवं सप्तरी जिल्लाका इन्चार्ज सुमनराज प्याकुरेलले बताउनुभयो ।
बुधवार सप्तरीको कञ्चनरुप –१२ रुपनगर स्थित रहेको फूलबारी पार्टी प्यालेसमा नेकपा एमाले सप्तरीद्वारा आयोजित जिल्ला संगठन कमिटि गठन तथा घोषणा समारोहमा नेता प्याकुरेलले सो कुरा बताउनुभएको हो ।

अब नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई साकार बनाउन आर्थिक उन्नती र विकास निर्माणका कार्यहरुमा लाग्नुपर्ने बताउनुभयो । अहिलेको केपी ओलीको वर्तमान सरकारको जस्तो विकास निर्माण र जनताको हितमा काम गर्ने कुनै पनि सरकार नरहेको जिकिर समेत गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेकै कारणले गर्दा सरकारलाई घेराबन्दीमा पारी सोचे अनुसारको काम गर्न नदिई जनताको हित विपरीत सरकारलाई ढाल्ने अभियानमा केकी नेताहरु लागिपरेको आरोप समेत उहाँले लगाउनुभयो ।
नेकपा एमाले प्रदेश नम्बर –२ का अध्यक्ष ज्वाला साहले नेकपा एमालेको सरकारले जस्तो जनताको हितमा काम गर्ने अरु कुनै पार्टी हुन नसक्ने दाबी गर्दै नेकपा एमालेलाई प्रदेश नम्बर २ मा मजबुत र नमूना बनाउन नेता तथा कार्यकर्ताहरुले पार्टीको संगठनलाई सुदृढ गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले कोभिड –१९ बाट आफू पनि बच्दै अरुलाई पनि बचायने अभियानमा लाग्न कार्यकर्ताहरुलाई अनुरोध समेत गर्नुभयो ।
प्रतिनिधि सभाकी सांसद सरिता गिरी यादव, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य अब्दुल मजित साकिर, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोहि कार्यक्रमद्वारा नेकपा एमालेको सप्तरी जिल्ला अध्यक्षमा ताराकान्त चौधरी, सचिव देवनाथ यादव, कार्यालय सचिवमा डम्बर महतो सहित ६५ सदस्यिय जिल्ला संगठन कमिटिको घोषणा गरिएको थियो । नेकपा एमाले सप्तरीका जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page