समाचार

सप्तरीमा ०७७ पुष देखि ०७८ असार १६ गतेसम्ममा ५५ ओटा मानव अधिकार उल्लङ्घनका घटना

राजविराज, २७ असार । इन्सेक सप्तरीका अनुसार सप्तरीमा २०२१ जनवरीदेखि जुनसम्म अर्थात ०७७ पुष १७ गतेदेखि ०७८ असार १६ गतेसम्म इन्सेकमा ५५ घटना अभिलेख भएको छ । सप्तरीमा २०२० को एक वर्षको अवधिमा इन्सेकमा १३३ घटना अभिलेख भएको थियो । इन्सेकको तथ्याङ्कमा यो अवधिमा ५५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।
यो ६ महिनाको अवधिमा गैरराज्यबाट २ पुरुषको कुटपिटमा र १ बालिकाको बलात्कार पछि हत्या घटना भयो । जसमा ९ जना पुरुष आरोपित रहे । आरोपितमध्ये एक घटनाका ४ जना थुनामा छन् भने बलात्कारपछि हत्या घटनामा १ जना असार ६ गते गिरफ्तार भएका छन् । तेस्रो घटनाको अनुसन्धान भइरहेको छ । गत वर्ष ४ पुरुष, ४ महिला र ३ बालकको हत्या घटना भएको थियो ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार यस अवधिमा बढी चर्चामा रहेको घटनामा डाक्नेश्वरी नगरपालिका–३ हटेलकी ९ वर्षीया शिवानीकुमारी यादवको बलात्कार गरी हत्या गरेको आरोपमा छिमेकी १९ वर्षीय रोहितकुमार यादव असार ६ गते गिरफ्तार भएका छन् । डाक्नेश्वरी–३ हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा पीडितको हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा असार ४ गते शव फेला परेको थियो ।
पहिलो पटक मृगौला बेचविखनको १ घटना बाहिर आएको छ । बैशाख २७ गते गिरफ्तार आरोपित सुरुङ्गा नगरपालिका–१ नैनडाबरका ३५ वर्षीय काले भनिने रमेश विश्वकर्मा मानसिक र शारीरिक रुपमा विरामी रहेकाले जेठ ४ गते जमानीमा छुटेका छन् । मुख्य आरोपितको पहिचान खुलेको छैन् ।
बालिका बलात्कारका १२ घटनामा ५–६ देखि १८ वर्षका १३ जना पीडित भएका छन् । आरोपितमा १५ देखि ७१ वर्षका १३ जना छन् । आरोपितमध्ये बुवासहित ४ जना पुर्पक्षका लागि थुनामा छन, ६ जना फरार, १ बालक अभिभावकको जिम्मामा र १ धरौटीमा रिहा भएका छन् । एउटा उजुरी दर्ता भएको छैन् ।
महिला बलात्कारका ६ घटनामा २ जना फरार, २ जना धरौटीमा र २ जना जमानीमा रिहा भएका छन् । यो ६ महिनाको अवधिमा गैरराज्यबाट २ पुरुषको कुटपिटमा हत्या घटना भयो । जसमा ८ जना पुरुष आरोपित रहे । आरोपितमध्ये एक घटनाका ४ जना पुर्पक्षका लागि थुनामा छन् भने एउटा घटनाको अनुसन्धान भइरहेको छ ।
यो ६ महिनामा बालयौन दुव्र्यवहारको ३ घटनामा १ जना बालसुधार गृहमा छन्, १ जना असार ८ गते गिरफ्तार भएका छन् भने एउटा उजुरी दर्ता छैन । १४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा असार १५ गतेदेखि १ जना आरोपित थुनामा छन् । यो ६ महिनाको अवधिमा हुनै लागेको १ बालविवाह रोकिएको छ भने अर्को १ बालविवाहमा जेठ १६ गते ५ आरोपितविरुद्ध म्यादी पुर्जी जारी भएको छ ।
महिला बलात्कार प्रयासका ६ ओटा घटनामा २ जना धरौटीमा रिहा भए भने २ जना गिरफ्तार भएका छैनन् र २ जनाले उजुरी दिएनन् । १ महिलाको आत्महत्या दुरुत्सानमा उनका पति असार ७ गते ६० हजार धरौटी राखी रिहा भएका छन् । बहुविवाहको ४ घटनामा ५ जना आरोपितविरुद्ध म्यादी पुर्जी जारी भएको छ भने ३ जना धरौटी राखि रिहा भएका छन् ।
१ महिलाको गर्भपतन गराएको आरोपमा जिल्ला अदालतले ५ जनालाई जनही ३० हजार धरौटी लिई पुर्पक्षका लागि रिहा गरेको छ । भौतिक संरचना, सम्पत्ति क्षतिअन्तर्गत ४ घटनामा २ आरोपित धरौटीमा र १ जमानीमा रिहा भएका छन् । आरोपित १ जनालाई म्यादी पुर्जी जारी भएको छ भने ५ जना गिरफ्तार भएका छैनन् । गैरराज्यबाट यातनाका १, थुनाका १, कुटपिट÷दुव्र्यवहारका ४, घरेलु हिंसाका ५ घटना अभिलेख गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page