अर्थतन्त्र

कञ्चनरुपको पाँचौं नगर सभाबाट ६९ करोड १८ लाख ४५ हजारको बजेट सर्वसम्मत पारीत

कञ्चनरुप , २९ असार । सप्तरीको कञ्चनरुप नगरपालिकाको सोमबार नगरपालिकाको सभाहलमा बसेको पाँचौं नगर सभाबाट आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट स्विकृत सर्वसम्मत रुपमा पारीत गर्दै पाँचौं नगर सभा सम्पन्न भएको छ ।
उप-प्रमुख निरु पोखरेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०७८/०७९ को लागि कञ्चनरुप नगरपालिका, नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूचि १ मा उल्लेखित चालु खर्च, पूँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम ६९ करोड १८ लाख ४५ हजार १ सय ७५ रुपियाँको विनियोजित बजेट नगर सभाबाट सर्वसम्मत रुपमा पारीत भएको हो ।
उपप्रमुख पोखरेलले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०७८ र न्यायिक समितिको प्रतिवेदन समेत नगर सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

नगरपालिकाद्वारा आर्थिक वर्ष २०७७/०७८ मा पारित देहायका ऐन कानूनहरु जस्तै कञ्चनरुप नगरपालिकाको शिक्षा ऐन २०७७, २०७८ खानेपानी तथा सरसफाइ उपभोक्ता व्यवस्थापन कार्यविधि २०७७, ‘ध’ वर्गको निर्माण व्यवसायि इजाजत पत्र सम्बन्धि कार्य विधि २०७७, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७७, कञ्चनरुप नगरपालिकाको कर्मचारीको स्तरवृद्धि सम्बन्धि ऐन, स्थानिय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि २०७७, एकल महिला सुरक्षा कोष तथा व्यवस्थापन कार्यविधि २०७७, आपतकालिन बाल उद्धार कोष व्यवस्थापन र सञ्चालन कार्यविधि २०७७, कञ्चनरुप नगरपालिकामा स्वास्थ्य संस्था दर्ता अनुमति तथा नविकरण सम्बन्धि निर्देशिका २०७७, कञ्चनरुप नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य सञ्चालन कार्य विधि २०७८, कञ्चनरुप नगरपालिकाको स्थानिय राजश्व परामर्श समितिको कार्य सञ्चालन कार्य विधि २०७८ समेत नगर सभाबाट सर्वसम्मत रुपमा पारित गरेको छ ।

नगर सभामा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले आफूहरु जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपछि नगरपालिकाले एकपछि अर्को सफलता हासिल गर्दै आएकोमा सबैलाई धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो । उहाँले नगरपालिका तेस्रो र प्रदेश नम्बर २ मा पहिलो बालमैत्री नगर घोषणा हुनु र सप्तरीमा उत्कृष्ट नगरपालिका घोषणा हुनु गौरवको विषय भएको बताउँदै आगामि दिनमा नेपालमै पहिलो नगरपालिका हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नगर सभामा प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, प्रशासन शाखाका राजेश कुमार यादवले सहजीकरणको भूमिका निर्वाह गर्नुभएको थियो ।
नगर सभामा गीत, नृत्य प्रस्तुत गरी मनोरञ्जन समेत गरिएको थियो भने नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा पाँचौं नगर सभा सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page