खेलकुद

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध नेपाल ७ विकेटले विजयी

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ। ओमनले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो।
नेपालको जितमा आज कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले। उनले ४६ बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाएका हुन्।
यो उनको वानडे करियरको चौथो अर्धशतक हो। यससँगै उनले नयाँ कीर्तिमान बनाएका छन्। उनी नेपालबाट एकदिवसीय क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी बनेका छन्।
युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कीर्तिमान भंगसमेत गरेका छन्। यसअघि संयुक्त रूपमा मल्ल र रोहित नेपालका लागि सर्वाधिक ३–३ अर्धशतक बनाउने खेलाडी थिए।
यस्तै, ओपनर आसिफ शेखले ४०, कुशल भुर्तेल र रोहितकुमार पौडेलले ६–६ रन बनाउँदा शरद भेषवाकर १ रनमा नटआउट रहे।
बलिङमा नेस्टर धम्बाले २ र कलीमुल्लाहले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो।
उसका लागि कप्तान जीशान मक्सूदले ४१, जतिन्द्र सिंहले १३, नसीम खुशीले १२, कलीमुल्लाहले अविजित ११ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। उसका २ खेलाडी शून्य रनमा आउट भए।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। करणले ८ ओभरमा २५ रन खर्चिएर महत्वपूर्ण ४ विकेट हात पारे। सन्दीपले पनि ८।१ ओभरमा १८ रन दिएर ४ विकेट लिए। करणले १ र सन्दीपले २ ओभर मिडन राखे। शरद भेषवाकरले २ विकेट झारे।
यस जितसँगै नेपालले आईसीसी विश्वकप लिग–२ मा ओमनलाई पहिलो पटक हराएको छ।
लिग–२ मा चौथो जित हात पारेको नेपाल ८ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ। ८ खेलबाट नेपालले ४ जित र ४ हार नतिजासहित ८ अंक नै जोडेको हो। #डडेल्धुरा न्युज

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page