राजनीति

सप्तरीको राजविराजमा अधिकारकर्मी र गायिकाहरु सहित एक दर्जन बढी एमाले प्रवेश

राजविराज ,१२ कात्तिक । सप्तरीको राजविराजमा एक दर्जन बढी महिलाहरु नेकपा (एमाले) पार्टी प्रवेश गरेका छन् ।
शुक्रबार नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) द्वारा राजविराजमा आयोजित प्रदेश स्तरिय विस्तारित वैठक तथा शुभकामना आदानप्रदान कार्यक्रममा अधिकारकर्मी अनीता देवकोटा लगायत एक दर्जन बढी महिलाहरु पार्टी प्रवेश गरेका हुन् ।
एकल महिला समूह प्रदेश २ की अध्यक्ष एवम् महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष देवकोटा लगायत गायिका एवम मैथिली अभियानी कञ्चन झा, अधिकारकर्मीहरु सुनरवती यादव, मन्जु साह लगायत प्रवेश गरेका छन् । काँग्रेसभित्रको अप्रजातान्त्रिक र निरंकुशशैलीका कारण अन्त्यमा सम्मानित नेताहरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पनि काँग्रेस त्याग्नु परेको स्मरण गर्नुहुँदै देवकोटाले धेरै विचार गरेपछि एमाले प्रवेश गरेको बताइन् ।

कार्यक्रममा राष्ट्रिय सभाकी सदस्य एवम् अनेमसंघकी सचिवालय सदस्य तुलसाकुमारी दाहालले उनीहरुलाई टिका र गम्छा लगाएर अनेमसंघ प्रवेश गराइन् । कार्यक्रममा बोल्दै दाहालले महिला हक, अधिकारका लागि भएको सबै खाले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धी रक्षा गर्दै बाँकी रहेको कार्यभार पूरा गर्न अनेमसंघले सशक्त भूमिका खेल्ने बताइन् ।
जनताको बहुदलिय जनवाद र वर्ग मुक्ति नभएसम्म महिला मुक्ति सम्भव नभएको भन्दै उनले वर्गीय, जातीय, महिला, दलित सबैको मुक्तिका लागि एमालेमा लामबद्ध हुनु बाहेकको विकल्प नरहेको बताइन् ।
पूर्वबाट सुर्य उदाएको र महिला मुक्तिको दियो बलेको भन्दै दाहालले एमालेले सबैलाई आशावादी बनाएको र भविष्य पनि एमालेकै रहेको समेत बताइन ।

यसैगरी संघकी आर्थिक विभाग सचिव टिना सुबेदीले दलाल पुजीवादीहरुको गठबन्धन सत्तामा सहभागी भएको सुरुवातमै एकपछि अर्को असफलताको दलदलमा फस्दै गएको बताइन् ।
प्रदेश २ की सहसंयोजक एवम् संविधानसभा सदस्य प्रतिक्षा तिवारीले महिला र पुरुष बीचको वास्तविक समानता बैज्ञानिक समाजवाद र जनताको बहुदलिय जनवादको बिचारले मात्रै प्रदान गर्ने भएकोले सम्पुर्ण उत्पिडित र श्रमिक महिला एमालेको बाटोमा अघि बढ्नु पर्ने कुरामा जोड दिइन् ।
कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, इश्वरपुर नगरपालिकाकी उपमेयर एकावती चौधरी, मिथिला नगरपालिकाकी उपमेयर तारा बस्नेत लामा र लहान नगरपालिकाकी उपमेयर सरियार चौधरीले मन्तव्य राखेकी थिइन् ।
विस्तारित वैठक तथा शुभकामना आदानप्रदान कार्यक्रममा सप्तरी एमाले उपाध्यक्ष अब्दुल मजिद साकिर, सचिव देवनाथ यादव, राष्ट्रिय परिषद् सदस्यहरु शैलेन्द्रचन्द्र झा, सुखराम यादव, किसान संघका राजाराम यादव, युवा नेता अखिलेश झा, अनेरास्ववियुका सचिवालय सदस्य ललितनारायण रजक, प्रेस चौतारीका पिन्टु यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

विस्तारित वैठकले सदस्यता वितरण र नविकरण अभियान, संगठन सुदृढिकरण, महिला हिंसा विरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी विस्तारित वैठकले १२१ सदस्यीय प्रदेश कमिटी विस्तार गर्ने निर्णय गर्दै नवगठित कमिटीका सदस्यहरुलाई शपथ ग्रहण गराइएको छ ।
अनेमसंघकी सचिवालय सदस्य एवम प्रदेश २ की संयोजक रन्जु झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का आठवटै जिल्लाका अगुवा महिलाहरुको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page