धर्म संस्कृति साहित्य / लेख रचना

सप्तरीको कञ्चनरुपमा भोली महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइँदै

कञ्चनरुप (सप्तरी), १६ कात्तिक । सप्तरीको कञ्चनरुप नगरपालिकामा भोलि (बुधवार) महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
कञ्चनरुप नगरपालिकाको सहयोगमा तथा सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक संघको आयोजनामा साहित्यिक गोष्ठी एवम् शुभकामना आदानप्रदान हुने प्रलेस सप्तरीका उपाध्यक्ष मेघराज पौडेलले जानकारी दिए ।
यसअघि कञ्चनरुपमा १११ औं देवकोटा जयन्ती मनाएकोमा गत वर्ष कोभिड–१९ ले प्रभावित हुँदा मनाउन नपाइएको पौडेलले बताए ।
साहित्यिक गोष्ठीमा देवकोटाको जीवनी र योगदानबारे चर्चा तथा साहित्यकारहरुले आफ्नो सिर्जना वाचन गर्ने कार्यक्रम रहेको छ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो ।
दस वर्षका उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाको थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरे थिए । नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताएका थिए ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका छन् । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्धसङ्ग्रह’ प्रकाशन गरेका थिए ।
वि.सं. २०१६ सालमा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराएका थिए । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दस दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page