अर्थतन्त्र

कञ्चनरुपमा शहरी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य सुरु ,दुइ वर्ष भित्र घरघरमा धारा

डम्बर राई /
कञ्चनरुप(सप्तरी),मंसिर ८ गते ।
शहरी खानेपानी तथा सरसफाई आयोजना, आयोजनाको व्यवस्थापन कार्यालय पानीपोखरी काठमाण्डौको सहयोगमा कञ्चनरुप नगरपालिकामा आयोजित शहरी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य सुरु भएको छ ।
अतिरिक्त बोरीङ्ग गर्ने, पाइप जडान गर्ने लगायतका प्रारम्भिक कार्य सञ्चालनमा आएको कञ्चनरुप खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष भुवन बहादुर केसीले जानकारी दिनुभयो ।
यो आयोजनाको कार्य विधिवतरुपमा वडा नम्वर १२ स्थित धरमपुर ( आयोजनाको कार्र्यक्षेत्र) मा नगर प्रमुख बसन्त कुमार मिश्रले अतिरिक्त बोरीङ्गको शिलान्यास गरी खानेपानी आयोजनाको कार्य तिब्र रुपमा सुरु भएको कुरा एक कार्यक्रम बीच बुधवार जानकारी गराउनुभयो ।

लामो समय देखि खानेपानीको अभाव खटकिएको यस नपाको केहि वडाहरुमा खानेपानीको सर्वसुलव व्यवस्था मिलाउन यो आयोजना भित्र्याउन तीनसाल देखि नपाले कसरत गर्दै आएको थियो ।
सन् २०१८ मै भएको पहिलो सर्वेक्षण अनुसार वडा नम्वर ८ र १२ सबै ४, ७, ९ र ११ मा आंसिक गरी चार हजार चार सय ६४ घरधुरीले खानेपानीको सेवा पाउने छन् ।
यस नगरपालिकाको वडा नम्बर १२ को धरमपुर र चर्खिया बस्तीपुर र वडा ८ को कञ्चनपुर हटीयामा निर्माणाधिन स्थलहरु गरी छ वटा पूरानैमा तीनवटा बोरीङ्ग थप गर्ने साथै एकसय ४० किलोमिटर पाइपलाइन जडान हुने आयोजनाले जनाएको छ । नौ वटा बोरीङ्ग र धरमपुर, रुपनगर र कंचनपुरमा निर्माणाधिन पानीट्याङ्कीबाट सप्लायर गरिने खानेपानीको उत्पादन क्षमता कंचनपुर र रुपनगरमा प्रतिसेकेण्ड १५ लिटर र धरमपुरमा १० लिटर रहने प्राविधिकको भनाई छ ।
२०१८ को डिजाइन अनुसार जम्मा २४ हजार चार सय ६४ जनसंख्या लाभान्वित हुने छन् भने सन् २०४० सम्ममा करीव ४० हजार जनसंख्या पुग्ने अनुमान गरिएको छ । २० बर्षपछि चार हजार चार सय ६४ बाट छ हजार नौ सय एक घरधुरीहुने आयोजनाको प्रारम्भिक अनुमान रहेको छ ।
परामर्शदाता पिइए वि.नं.जेभी र निर्माण व्यवसायी शर्मा —दिवा— सगुन— जेभी रहेको उक्त आयोजनाको २०७८ असार २९ गते ठेक्का सम्झौता भएको थियो ।
६८ करोड, ८४ लाख, ९४ हजार पाँच सय आठ रुपैयाँको लागत इष्टिमेट रहेको यस आयोजना ४४ करोड, २९ लाख, नौ हजार एक सय उनान्सय रुपैयाँ कर समेत गरी ठेक्का सम्झौता भएको थियो ।
शर्मा दिवा सगुन जेभीले आयोजनाको काम गर्नेछ र दुई बर्षभित्रमा पहिलो चरणको निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौता पत्रमा उल्लेख रहेको छ । यस आयोजनालाई विश्व बैंक( एडिवी ) बाट ऋण प्राप्त भएको आयोजनाको व्यवस्थापन कार्यालयले जानकारी दिइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page