समाचार

३० औं अन्तर्राष्ट्रिय अपाङ्ंगता दिवस ; ५० जना अपाङ्गता भएका व्यक्तिलाई सिरक वितरण

राजविराज, १७ मंसिर । ३० औं अन्तर्राष्ट्रिय अपाङ्ंगता दिवसको अवसरमा सप्तरीमा आज अपाङ्गता भएका ५० जनालाई सिरक वितरण गरी मनाइएको छ ।
समावेशी अपाङ्ग संघ र बौद्धिक अपाङ्गताका अभिभावक संघ, सप्तरीले नजिकिएको जाडोबाट जोगाउने उद्देश्यले राजविराजका ५० जनालाई सिरक वितरण गरी मनाएको हो ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ ।
राजविराज नगरपालिकाको सहयोगमा समावेशी अपाङ्ग संघको कार्यालयमा भएको कार्यक्रममा राजविराज नगर प्रमुख शम्भुप्रसाद यादव, उपप्रमुख साधना झा, प्रमुख प्रशासकिय अधिकृत मदनकुमार थापा र प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झालाई दोसल्लासहित सम्मानपत्र प्रदान गरियो ।

नगर प्रमुख यादवले अपाङ्गताको क्षेत्रमा धेरै काम गर्न नसकिएको भन्नु हुँदै सम्बन्धित संस्थाहरुलाई योजनासहित कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । अपाङ्ग संघले योजनासहित ल्याएको कार्यक्रम आगामी वर्षको बजेटमा राख्ने यादवले प्रतिबद्धता जनाउनु भयो ।
उपप्रमुख साधना झाले अपाङ्गतालाई आत्मनिर्भर र सबल बनाउन विशेष योजनाको सोंच रहेको बताउनु भयो ।
इन्सेक प्रतिनिधी मनोहर पोखरेलले राज्यका हरेक क्षेत्रमा समान पहुँच र अवसर पाउने अपाङ्गमैत्री वातावरण र सोंच आवश्यक रहेको बताउनु भयो । नीति नियम, ऐन कानुन, संविधानमा अपाङ्गता भएका व्यक्तिका सवाललाई समावेश गरिए पनि भएका व्यवस्था पूर्णरूपमा कार्यान्वयन हुन नसक्दा अपाङ्गतामैत्री वातावरण बन्न नसकेको पोखरेलले बताउनु भयो ।

समावेशी अपाङ्गता संघ सप्तरीका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष अरुण यादव र बौद्धिक अपाङ्गताका अभिभावक संघका अध्यक्ष जगदीश अर्यालले अपाङ्गता अनुकूलको वातावरण र संरचनामा जीवनयापन गर्न सक्ने वातावरण सिर्जना होस् भनेर शुभकामना व्यक्त गर्नुभयो ।
राजविराजका १६ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई सिरक वितरण गरिएको कार्यक्रममा अधिकांश वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page