समाचार

सप्तरीको राजविराजमा प्रदेश कृषि विश्व विद्यालयको कार्यालय उदघाटन

सप्तरी, २७ मंसिर । सप्तरीको राजविराजमा आज सोमवार प्रदेश कृषि विश्व विद्यालयको कार्यालय भवन उदघाटन भएको छ ।
पूर्व उपप्रधानमन्त्री एवम् जनता सामजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबू राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले एक कार्यक्रमका बीच संयुक्त रुपमा कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेश र देशको विकास हुन नसक्ने बताउनुभयो । प्राविधिक शिक्षा प्रदान गर्ने सीटीईभीटी प्रदेश मातहतमा राखिनुपर्नेमा हालसम्म नदिएको समेत उहाँले बताउनुभयो ।

विना सीप यहाँको जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेका छन् । प्राविधिक शिक्षा सम्बन्धी बोर्ड प्रदेश सरकारले गठन गर्न लागेको जानकारी गराउँदै मुख्य मन्त्री राउतले प्राविधिक शिक्षामा प्रदेश सरकारले जोड दिदै आएको र दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर एवम् रोजगारमूलक प्रदेश बनाउने हाम्रो अठोट रहेको छ । विश्व विद्यालय संचालनका लागि प्रदेश सरकार हरसम्भव प्रयासरत रहने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि जसपाका अध्यक्ष उपेन्द्र यादवले ८० प्रतिशत जनता कृषिमा निर्भर रहेकोले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनुभयो । कृषि क्षेत्रको आधुनिकीकरण एवम् भुमिको व्यवस्थापनले गरिबी र बेरोजगारी हटने विश्वास व्यक्त गर्नुभयो ।

जनशक्ती उत्पादन कृषि विश्वविद्यालयले गर्ने र भारतको निर्मली हुदै न्योर सप्तरीको छिन्नमस्ता, राजविराज , गाइघाट हुदै सोलु जोड्ने सडक विस्तार गर्ने परिकल्पना रहेको समेत उहाँले बताउनुभयो । यसले दिल्ली टु चाइना मालसामान ढुवानी हुने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह , प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साह ,राजबिराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, प्रदेश सभा सदस्य मनिष कुमार सुमन, प्रतिनिधि सभा सदस्य डा. सूर्यनारायण यादव लगायतले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page