समाचार

नेपाल खेलकुद महासंघ प्रदेश १ को अधिवेशन समपन्न ,अध्यक्षमा राजकुमार थापा सर्वसम्मत निर्वाचित

काठमाडौँ, २२ फागुन । नेपाल खेलकुद महासंघले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहिदहरुको सम्झनामा झापामा फागुन २१ गते प्रदेश–१ को अधिवेशन गर्दै सम्पन्न भएको हो ।
दोश्रो चरणमा महासंघले आगामी फागुन २८ गते खेल संघहरुको तथा चैत्र १० गते लुम्बिनी प्रदेशको र चैत्र १९ गते गण्डकी प्रदेशको अधिवेशन गर्नेछ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मालीको प्रमुख आतिथ्यतामा शनिबार झापाको बिर्तामोडमा सम्पन्न प्रदेश–१ को प्रथम अधिवेशनले कराँतेका राजकुमार थापाको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

उपाध्यक्षमा धनकुटाका भोगेन्द थापा तथा सुनसरीकी टिका शिवाकोटी निर्वाचित भएका छन् । त्यस्तै मोरङका जितन थापा सचिव, खोटाङका सिताराम श्रेष्ठ तथा ताप्लेजुङका दिल कु. सुनुवार सहसचिव र मोरङका हेमन्त सुवेदी कोषाध्यक्ष निर्वाचित भए । अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द«ीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराउनुभयो ।
अधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आसन्न निर्वाचनमा महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांग भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर भोट दिने वातावरण बनाउन खेलाडीहरुको महत्वपूर्ण स्वयंसेवकीय भूमिका हुनसक्ने भएकोले नेपाल खेलकुद महासंघले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

ओलीले जनताको अभिमतको रक्षा गर्नु सबैको पहिलो दायित्व भएको हुँदा खेलाडीले चाहेमा निर्वाचनमा हुनसक्ने सम्भावित धाँधलीलाई समेत रोक्न सकिने बताउनुभयो । साथै चुनावमा नटेर्ने, धाँधलीको वातावरण बनाउन खोज्नेहरुलाई खेलाडीले एकपटक हुस भनेपछि सबै आफ्नो बाटो लाग्ने हुँदा सबै खेलाडीहरुलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभयो ।
अधिवेशनलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य एवं महासंघका ईन्चार्ज गोकुल बास्कोटाले खेलाडी राष्ट्रको गहना मात्र नभई राष्ट्रिय पहिचान भएको हुँदा खेलाडी तथा खेलक्षेत्रको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । बास्कोटाले आगामी स्थानीय निर्वाचनमा एमालेले आफ्नो घोषणापत्रमा प्रदेश १ का सबै पालिकामा एक रंगशाला र सबै वडामा एक खेल पूर्वाधार निर्माणको नीति लिनुपर्ने बताउनुभयो । साथै कुल बजेटको कम्तिमा १ प्रतिशत बजेट खेलक्षेत्रमा विनियोजन गरी ५० प्रतिशत पूर्वाधार निर्माण र ५० प्रतिशत प्रतियोगिता तथा सहभागीतामा खर्च गर्न सुझाव दिनुभयो ।

महासंघका संयोजक बस्नेतले खेलक्षेत्र र खेलाडीका मागलाई सम्बोधन गर्न गराउनका लागि महासंघ सँधै प्रतिबद्ध रहेको बताउनुभयो । बस्नेतले महासंघले ड्राफ्ट गरेको खेलकुद नीतिलाई छिट्टै सार्वजनीक गर्ने बताउँदै वर्तमान सरकारले खेलक्षेत्रमा निम्त्याएको बेथितीको खुलेर भण्डाफोर गर्ने बताउनुभयो ।
अधिवेशनमा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतका नेताले सम्बोधन गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page