राजनीति

प्राध्यापक तथा समाजसेवी डा. पोखरेलको सप्तरी १ बाट स्वतन्त्र उम्मेदवारी चर्चाको विषय बन्दै

कञ्चनरुप सप्तरी । प्राध्यापक तथा समाजसेवी डाक्टर रोहित कुमार पोखरेलले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँले सप्तरी निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको हो ।
आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि प्रतिनिधि सभा सदस्यमा डा. पोखरेलले स्वतन्त्रको रुपमा उम्मेदवारी दर्ता गराएपछि यस क्षेत्रमा चर्चाको विषय बन्न थालेको छ ।
सरल, सालिन स्वभावका तथा समाजमा केही गरौं भन्ने भावनाका व्यक्तिले उम्मेदवारी दर्ता गराएपछि चर्चाको विषय बन्न थालेको हो ।
डा. पोखरेलले यसअघि जापानी संस्थासँग समन्वय गरी यस भेगका स्वास्थ्यमा पहुँच नभएका जनताका लागि सहज वातावरणमा स्वास्थ्य उपचार गराउन सजिलो होस् भनेर कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुप १२ रुपनगरमा स्थापना गर्नुभएको छ । त्यसैगरी शंकर माध्यमिक विद्यालय रुपनगरमा जापानकै संस्थासँग समन्वय गरी भवन निर्माण गर्ने काम समेत गरिसक्नु भएको छ ।
डा. पोखरेलले तिलगंगा नेत्र प्रतिष्ठानसँग समन्वय गरी करिब ५ हजार यस भेगका जनतालाई मोतिया विन्दुको निशुल्क अप्रेसन गरी सजिलो बनाउने काममा समेत सहयोग पुर्‍याउनु भएको छ ।
प्रा. डा. पोखरेलले रामराजा सिंह मेडिकल कलेज चाँडै सम्पन्न होस् भनेर शिलान्यास समेत गराई तिब्र गतिमा अगाडि बढाउनु भएकाले पनि यस क्षेत्रका जनताहरु असल व्यक्तिले उम्मेदवारी दिएकोले निकै खुशी भएका छन् ।
डा. पोखरेल भन्नु हुन्छ हिजोसम्म देश र जनताको लागि विभिन्न समयमा विभिन्न हैसियतमा रही काम गरिरहेको थिएँ तर स्वास्थ्य तथा अन्य क्षेत्रको अस्तव्यस्तता तथा अन्यौल र त्यसप्रति पार्टीका नेताहरूको उदासिनताले गर्दा संसदमै पुगेर आफूले केही अग्रगामी काम गर्न सकिन्छ कि भन्ने उद्देश्यले यसपाली प्रतिनिधि सभा सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएको छु।
विगत ३० वर्षदेखि यस क्षेत्रमा स्वास्थ, शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा लागिपरेको र आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढी यस क्षेत्रका जनतालाई सुविधा सम्पन्न बनाउन चाहेको छु ।
आफूले जितेमा कृषि, सिचाई, पर्यटन तथा खेलकुदको विकास गरेर यस क्षेत्रलाई नमूना बनाउने डा. पोखरेल बताउनु हुन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page