धर्म संस्कृति समाचार समाज

एक महिने श्री स्वस्थानी ब्रत आजदेखि सुरु, घरघरमा स्वस्थानी व्रत कथा वाचन गरिँदै

काठमाडौं । धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आज प्रारम्भ भएको छ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गरिन्छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ ।
पौष शुक्ल चतुर्दशीको दिन हातखुट्टाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर व्रतको आरम्भ गर्नुपर्दछ । यसरी पवित्र भएर हविष्य (दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादीको सात्विक पदार्थहरू) भोजन ग्रहण गर्नुपर्दछ । सोही दिन श्रीस्वस्थानी माताको स्थापना र पूजा स्थान सरसफाई गरी लिपपोत गर्नु पर्दछ ।
यस एक महिनाको अवधिमा सत्य बोल्ने, झगडा नगर्ने जथाभावी नहिँड्ने र एकभक्त भएर ईश्वरको पूजामा सामेल हुनुपर्छ भन्ने मान्यता छ ।

श्रीस्वस्थानी मातासंगै महादेवको पनि अराधना गर्नुपर्ने हुन्छ । समापन पूजामा १०८ सेलरोटी, १०८ टुक्रा सुपारी, १०८ बेली पुष्प, १०८ पान, १०८ जनै, १०८ अक्षता, भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ वटा चढाउनु पर्दछ ।
पूजा पछी १०८ पटक परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रत प्रतिष्ठा पछि ‘हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो’ भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८/८ वटा प्रसाद झिकि सगुन सहित आफ्ना श्रीमान, श्रीमान नभए छोरा, छोरा नभए मित छोरा र मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदीमा बगाई दिनुपर्दछ ।
सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु पर्दछ । यतिगरी सकेपछी श्रीस्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नास भई मनोकामना पूर्ण हुने श्रीस्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page