धर्म संस्कृति

कोशी ब्यारेजमा बिहानैदेखि स्नान तथा मेला भर्न आउनेहरूको घुइँचो

कञ्चनरुप सप्तरी । अत्यधिक चिसोका बाबजुद सप्तरीको कोशी ब्यारेजलगायतका जलाशयहरुमा नुहाएर आज शुक्रबार पुसी पूर्णिमा मनाइँदै छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरूको घुइँचो लागेको छ ।
ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ, भारतको पुर्णिया, मधुवनी, फारबिसगञ्ज, अररिया, बनमनखीलगायतका स्थानहरूबाट कोशी स्नान गर्न आएको स्थानीय गङ्गा प्रसाद साहले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानैदेखि बैलगाडा, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरूको दिनभरि घुइँचो लागेको छ ।

विशेष गरी भारदहस्थित कोशी ब्यारेज, सप्तकोशी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुर लगायतका स्थानहरूमा समेत भव्य मेला लागेको छ ।

कोशी नदीलाई कौशिका माताका रूपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ । यस दिन मेलामा भुजा, च्यूरा, पुरी, तरकारी, जेरीसहितका मिठाइहरू खाने प्रचलन छ ।
कृषि मेलाको रुपमा समेत चिनिने यो एक दिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरूको खरिद बिक्रीका लागि महत्त्वपूर्ण मानिन्छ । यस कारणले पनि कृषक समुदायको कोसी मेलामा बढी उपस्थिति हुने गरेको स्थानीयहरू बताउँछन् ।
पौष शुक्ल पूर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह पुण्य मिल्ने जनविश्वास रहेको कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख वसन्त कुमार मिश्र बताउनुहुन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page